काठमाडौँ: भारतमा सन् २०१६ मा भएको विमुद्रिकरण (‘डिमनिटाइजेशन) ताका नेपाली बैंकहरूमा भएको भारु ५ सय र १ हजार दरको नोट नेपालले अझैं सटही गर्न सकेको छैन।
नेपालको तर्फबाट भारतीय रिजर्भ बैंक(आरबीआई) लाई ताकेता गरे पनि हालसम्म यो विषयले निकास पाउन नसक्दा नेपाली ८ करोड १० हजार रुपैयाँ बराबरको भारतीय ५ सय र १ हजारको नोट नेपाल राष्ट्र बैंकको भल्टमा थन्केको छ।
‘भल्ट’मा थन्किएको ५ सय र १ हजार दरका नोटहरूको पटकपटक पहल हुँदा पनि हालसम्म राष्ट्र बैंकले साँट्न सकेको छैन। राष्ट्र बैंकले पटक पटक यो नोट सटहीको विषयलाई लिएर भारतीय रिजर्भ बैंकसँग ताकेता गरे पनि हालसम्म यसले निकास पाउन नसकेको प्रवक्ता गुरुप्रसाद पौडेलले बताए।
‘नेपालको केन्द्रीय बैंकको तर्फबाट भारतीय केन्द्रीय बैंकलाई ताकेता भैरहकै छ’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले भने ‘तर अहिलेसम्म यो विषयले टुंगो पाउने छाँटकाँट छैन।’
राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले पनि भारत भ्रमणको क्रममा भारतीय रिजर्ब बैंकका गभर्नर शशिकान्त दाससँग नोट सटहीमा सहजीकरण गर्नका लागि आग्रह गरेका थिए।
त्यस्तै, राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकबीचको ‘ज्वाइन्ट टेक्निकल को–अर्डिनेटर कमिटी’ (जेटीसीसी) मा पनि सटही हुन नसकेको भारतीय नोटको विषयमा बारम्बार कुराकानी हुँदै आएको छ। तर पनि सटही हुन सकेको छैन्।
भल्टमा थन्किएको नोटको विषयमा सरकारस्तरीय पहल हुन सकेमात्रै समस्या समाधान हुनसक्ने राष्ट्र बैंकको बुझाइ छ।
‘राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकबीचको समन्वयले यो समस्या सुल्झिने देखिन्न ’ प्रवक्ता पौडेलले भने ‘नेपाल सरकारकै तर्फबाट भारत सरकारलाई जीटुजी माध्यमबाट पहल गर्न सके समस्या हल हुन सक्थ्यो होला।’
भारतीय रिजर्भ बैंकले नोट सटही सम्बन्धमा काुननी उल्झन देखाउँदै पन्छिने गरेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्र बैंकले परराष्ट्र मन्त्रालयलाई नोट सटहीको लागि पहल गरिदिन आग्रह गरेको थियो। यद्यपि, हालसम्म सरकारले कुटनीतिक तवरले नोट सटहीको विषयलाई भारत सरकारसमक्ष ‘एप्रोच’ गरेको भने छैन।
राष्ट्र बैंकले आफ्नो प्रणालीमै भएका पुराना भारतीय बन्देज लगाईएका नोट सटही गर्न नसक्दा पछिल्लो पटक भारतीय २ हजारको नोटलाई नेपालको प्रणालीमै भित्राएको थिएन। २ हजारको नोटलाई भारतले डिमनिटाइज गर्दा भने नेपालले यो समस्या भोग्नुपरेको थिएन।


