काठमाडौँ: चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबार उल्लेखनीय रूपमा घटेको छ। सरकारले अन्तरबैंकिङ्ग कारोबारमा लागू हुँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएको भए पनि कारोबार भने बढ्ने संकेत देखिएको छैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको (साउन–असोज) तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबारमा तीव्र गिरावट आएको छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ३ खर्ब १ अर्ब २५ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार गरेका थिए। तर, यस वर्ष सोही अवधि भित्र कारोबार झरेर २ खर्ब ४२ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ।
वाणिज्य बैंकहरूको कारोबार घटेपनि विकास बैंक, वित्त कम्पनी तथा अन्य वित्तीय संस्थाहरूमा भने अन्तरबैंक कारोबार भने बढेको देखिन्छ। गत वर्ष ३१ अर्ब २० करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार गरेका यी संस्थाहरूले चालु आवको साउन–असोजमा ५२ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। तर, समग्र अन्तरबैंक कारोबार हेर्दा अघिल्लो वर्षको ४ खर्ब २ अर्ब ४५ करोड रुपैयाँको तुलनामा यस वर्ष २ खर्ब ४२ अर्ब ७९ करोड रुपैयाँमा झर्दै करिब ४२ प्रतिशत कमी देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तरबैंकिङ्ग कारोबारमा भ्याट लागू गरेका थिए। उक्त निर्णयपछि बैंकहरूले भ्याटको अतिरिक्त लागत वहन गर्नुपर्ने भएकाले अन्तरबैंक कारोबार निकै घटेको थियो। तर, चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गत जेठ १५ गतेदेखि लागू हुने गरी अन्तरबैंकिङ्ग कारोबारमा लाग्दै आएको भ्याट हटाइदिए। भ्याट हटेपछि कारोबार वृद्धि हुने अपेक्षा गरिएको भए पनि उल्टै कारोबार झन् खुम्चिनुको पछाडी बैंकिङ तरलता रहेको बताइन्छ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त मात्रामा तरलता उपलब्ध भएकाले अन्तरबैंक कारोबारमा कमी आएको हो। ‘बैंकहरूसँग लगानीयोग्य तरलता पर्याप्त छ। यदि लगानीको आवश्यकतामा दबाब भएको भए बैंकहरूले बढी ब्याज दिएर पनि अन्तरबैंक कारोबार बढाउँथे,’ पौडेलले बताए।
उनका अनुसार बैंकिङ प्रणालीमा हाल ९ खर्ब रुपैयाँभन्दा बढी तरलता छ, जसका कारण राष्ट्र बैंकले नियमित रूपमा तरलता प्रशोचन गरिरहेको छ। राष्ट्र बैंकले गत बुधबार मात्रै ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरी बजारबाट अतिरिक्त तरलता प्रशोचन गरेको छ।
बजारमा तरलता धेरै हुनु, कर्जा विस्तार सुस्त हुनु, तथा बैंकहरूको आन्तरिक स्रोत प्रशस्त हुनु नै चालु आवमा अन्तरबैंक कारोबार घट्नुको प्रमुख कारणका रूपमा देखिएको छ।
अन्तर बैंक कारोबारमा देखिएको गिरावटले बैंकिङ प्रणालीको तरलता आवश्यकता घट्दै गएको संकेत गरेको छ । आगामी महिनाहरूमा कर्जा प्रवाह, निक्षेप संकलन तथा बजारमा तरलता व्यवस्थापन कस्तो रहन्छ भन्ने अनुसार अन्तर बैंक बजारको गतिविधि पुनः बढ्ने वा थप घट्ने आकलन हुने जानकारहरूको धारणा छ ।


