काठमाडौँ: सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले बुधबार बिहान १० बजे शेयर बाँडफाँड गरेको हो।
कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता शेयर निष्काशन गरेको थियो। यसमा ६२ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए। यसमध्ये ६२ हजार ९ सय ४७ आवेदन मात्र योग्य घोषित भएका छन्।
१० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १०–१० कित्ता शेयर पाएका छन्।
२० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८ सय ८२ मध्येबाट ३७ हजार ५३ जनाले २०–२० कित्ता शेयर पाएका हुन्, जबकि बाँकी आवेदकले १० कित्ता मात्र शेयर प्राप्त गरेका छन्। अर्थात्, योग्य ठहरिएका सबै आवेदकले शेयर प्राप्त गरेका छन्।
कम्पनीले मङ्सिर ७ गतेदेखि मङ्सिर १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरेको थियो। नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको हो।


