काठमाडौँः वाणिज्य बैंकहरूको नाफामा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले झन्डै साढे १९ अर्ब भन्दा बढी नाफा कमाएका हुन्। कात्तिक मसान्तसम्ममा बैंकहरुले १९ अर्ब ३७ करोड बराबरको खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा १३.११ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड खुद नाफा कमाएका थिए।
गत भदौमा भएको जेनजी आन्दोलन र कर्जा प्रवाह हुन नसक्दा बैंकहरूको नाफामा गिरावट आएको हो। चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ५१ करोड खुद नाफा कमाएको छ। त्यस्तै नबिल बैंकले २ अर्ब ४६ करोड खुद नाफा कमाएको छ। यस अवधिमा सिटिजन्स बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् १ करोड ६४ लाख रहेको छ। त्यस्तै कृषि विकास बैंकले ७ करोड ४९ लाख खुद नाफा कमाएको छ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो चार महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमाले ७७ करोड ९२ लाख, प्रभुले ७३ करोड ७७ लाख, नेपाल एसबीआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख, माछापुच्छ्रेले ६० करोड ९९ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख, एनआइसी एशिया बैंकले ३ करोड ४३ लाख रूपैयाँ, सिटिजन्स बैंकले १ करोड ६४ लाख नाफा आर्जन गरेका छन्।


