म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ।
म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका छन्।
दोभानदेखि अर्चेको फेदीमा रहने बाँध ण्निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ।
प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युतगृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिए।
“पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ”, उनले भने, “सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ।”
अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ। नेपाल विद्युत प्राधिकरण र विकासकर्ता एभरेष्ट इनर्जीबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ।
यस्तै आयोजनाले विद्युत् विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ। बाँध र विद्युतगृह हेड ३३७ मिटर रहेको छ।
आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ अनुमान गरिएको केसीले बताए। यो लागतलाई आधार मान्दा आयोजना बनाउन दुई अर्ब २४ करोड रुपैयाँ लाग्नेछ।
नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको आयोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ।
दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ।
धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३.५ मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६.२५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन्।
यस्तै ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए।


