काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीमार्फत सुदुरपश्चिम प्रदेशमा ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय आयोजना बनाउन लागेको छ।
आयोजनाको काम अघि बढाउन चिलिमेले विद्युत उत्पादन इजाजतपत्र (लाइसेन्स) सहायक कम्पनी चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गर्ने भएको छ। चिलिमेको यही पुस ३० मा बस्ने २९ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ। सभाबाट पारित भएपछि लाइसेन्स चिलिमे सेतीलाई हस्तान्तरण हुनेछ।
अर्धजलाशय सेती नदी–३ बनाउन १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाबाट वार्षिक सरदर ४८ करोड २५ लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजनाबाट आउँदो पाँच वर्ष अर्थात सन् २०२८ मे १० मा बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ।
आयोजनाको १ घण्टा पिकिङ समय रहने छ। आयोजनाको डिजाइन बहाव प्रतिसेकेन्ड ८४.६० घनमिटर रहेको छ भने कूल हेड १२४ मिटर हुनेछ। आयोजनाको भौतिक संरचना जयपृथ्वी नगरपालिकाको सेती नदीको बायाँ किनारमा रहने प्रस्ताव गरिएको छ।
आयोजनाको बाँधको लम्बाइ ६७ मिटर र उचाइ १६ मिटर हनेछ। विद्युुतगृहमा २९ मेगावाट क्षमताका तीनवटा जेनेरेटर जडान हुने भएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमाफर्त बझाङ सबस्टेशन कैलाशमा जोडिनेछ। आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने चिलिमेले जनाएको छ।
पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना बझाङमा पर्छ।
सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्न भारत सरकारको सहुलियत ऋण (लाइन अफ क्रेडिट) सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किलोमिटर लामो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत बन्दैछ।
परियोजनाको विद्युतगृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने भएको छ।
चिलिमे हाइड्रोपावरले सहायक कम्पनीहरुमार्फत थप चार जलविद्युत आयोजना अघि बढाएको छ। चिलिमेले ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढी गण्डकी र ४५ मेगावाटको स्यारखालो आयोजना अघि बढाएको हो।
आयोजनाको जडित क्षमता ३०४ मेगावाट छ। चारवटै आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने भएको छ ।
बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। बुढीगण्डकी प्रोकबाट २०८५ भदौ २८ मा विद्युत उत्पादन प्रस्ताव गरिएको छ।
नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ४४ करोड ७० लाख ३० हजार युनिट बिजुली उत्पादन हुने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १५ किलोमिटर दुरीमा रहेको २२० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लिपाङ बिहारथोक सबस्टेसनमा जोडिने छ।
बुढीगण्डकी प्रोक विद्युतगृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने छ। आयोजना गोरखाको चुमनब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्छ ।
यस्तै ४५ मेगावाटको चुमचेत स्यार खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।आयोजना नदीको प्रवाहमा आधारित ९आरओआर० हो। आयोजना आगामी ४ वर्ष अर्थात् सन् २०२९ मा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकाको वडा नम्बर ५ र ६ मा आयोजना रहने गरी स्यार खोलाको पानीलाई उपयोग गरी बिजुली उत्पादन गर्ने लक्ष्य छ।
चिलिमेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको माथिलो तथा तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना सञ्चालनमा आइसकेका छन्।
चिलिमेले २२ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।
सेयरधनीलाई एक अर्ब पाँच करोड लाभांश
गत आर्थिक वर्षको नाफाबाट चिलिमेले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ। यही साधारणसभामा लाभांश दिने प्रस्ताव पेश हुँदैछ। कम्पनीले सेयरधनीलाई एक अर्ब पाँच करोड ३८ लाख रुपैयाँ लाभांश दिने भएको छ।
जसअनुसार चार प्रतिशत अर्थात ३५ करोड १२ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ। यस्तै आठ प्रतिशत अर्थात ७० करोड २५लाख रुपैयाँ बोनस सेयर दिने भएको छ।


