काठमाडौँः प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्। विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले शेरचनसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई थुनाबाहिर राखेर अनुसन्धान गर्ने निर्णय गरेको हो।
विशेषले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न निर्देशन दिएपछि शेरचनसहित पोखरेल र श्रेष्ठलाई रिहा गरिएको हो।
सीआईबीले यसअघि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनलाई पनि पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गर्ने निर्णय गरेपछि कात्तिक २६ गते रिहा भएका थिए।
प्रभु ग्रुपसँग सम्बन्धित ठगी मुद्दाको अनुसन्धानका लागि सीआईबीले शेरचनलाई गत मङ्सिर १४ गते पक्राउ गरेको थियो।


