काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ३२.९८ गुणा बढी आवेदन परेको छ। सीडीएससीका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म ५ लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ता शेयरका लागि आवेदन परेको हो, जसको कुल मूल्य २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबर रहेको छ।
कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गरेको थियो। बुक–बिल्डिङ विधिबाट निष्काशन गरिएको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो। आईपीओ खुलेको ४० मिनेटमै मागभन्दा बढी आवेदन परेको थियो।
कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले शेयर निष्काशन गरेको हो। यस आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ। कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।


