काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आवेदन प्रक्रिया सम्पन्न भएको छ। बुक बिल्डिङ विधिबाट निष्काशन गरिएको कम्पनीको आईपीओमा आकर्षण अपेक्षाभन्दा धेरै देखिएको छ। कम्पनीका अनुसार सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फण्डतर्फ निष्कासित १० लाख ९८ हजार १६२ कित्ताका लागि कुल ३ करोड ५ लाख ४० हजार २१८ कित्ताको आवेदन परेको छ। यसबाट २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ संकलन भएको छ।
रिलायन्सले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यति ठूलो सहभागितालाई नेपाली पूँजी बजारका लागि ऐतिहासिक उपलब्धि भनेको छ। कम्पनीका अनुसार छोटो अवधिमै अत्यधिक आवेदन पर्नु लगानीकर्ताको कम्पनीप्रतिको विश्वास र भरोसाको प्रमाण हो। स्वदेश तथा विदेशमा रहेका लाखौँ नेपाली नागरिक कम्पनीको स्वामित्वमा जोडिनु गर्वको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
आम–सर्वसाधारण समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। यस समूहका लागि निष्कासित ९ लाख २४ हजार ७६८ कित्ताका लागि ५ लाख ३९ हजार ५४५ आवेदकबाट २ करोड ७६ लाख ७१ हजार १२० कित्ताको आवेदन परेको छ, जुन २९.९२ गुणा बढी हो। यस समूहबाट मात्र २२ अर्ब ७१ करोड २४ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख १५ हजार ५९६ कित्ताका लागि १९ लाख ४४ हजार ३३० कित्ताको आवेदन परेको छ, जसबाट १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। म्युचुअल फण्डतर्फ ५७ हजार ७९८ कित्ताका लागि ९ लाख २४ हजार ७६८ कित्ताको आवेदन परेको कम्पनीले जनाएको छ।
रिलायन्सले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो। यसमध्ये बुक बिल्डिङ विधिबाट पहिलो चरणमा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेको छ। बाँकी शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फण्डतर्फको बाँडफाँट सम्पन्न भइसकेको छ भने आम–सर्वसाधारणतर्फको बाँडफाँट प्रक्रिया जारी छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
तीन दशकअघि स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स नेपालकै सबैभन्दा ठूलो धागो उत्पादक तथा निजी क्षेत्रको ठूलो रोजगारदाता उद्योग हो। कम्पनीले उत्पादन गरेको धागोको ७० देखि ७५ प्रतिशत भारत, टर्की, भियतनाम, बेलायतलगायतका मुलुकमा निर्यात गर्दै आएको छ। वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात कारोबार गर्दै आएको कम्पनीको मूल उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ।
कम्पनीको पछिल्लो पाँच वर्षको औसत प्रतिशेयर आम्दानी करिब ४० रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१र८२ मा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा साढे ९ गुणा बढी हो। वित्तीय रूपमा बलियो अवस्थाका कारण केयर रेटिङ नेपालले रिलायन्सलाई ‘केयर एनपी सिंगल ए’ इस्यूअर रेटिङ प्रदान गरेको छ।
रिलायन्सले आफ्नो कुल पूँजीको करिब १० प्रतिशत मात्र सेयर सार्वजनिक गरी आम–लगानीकर्तासँग दीर्घकालीन सहकार्य गर्ने रणनीति लिएको देखिन्छ। कम्पनीले जनाएको अनुसार अब रिलायन्सको तीन दशक लामो यात्रा बृहत सामूहिकता, सहकार्य र सहअस्तित्वको नयाँ चरणमा प्रवेश गरेको छ।


