काठमाडौँ: बैंकिङ प्रणालीमार्फत क्रिप्टो र अन्य अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ।
नेपाल राष्ट्र बैंकको भर्चुअल असेटसम्बन्धी प्रतिवेदन २०२५ अनुसार, बैंकिङ प्रणालीमार्फत क्रिप्टो र अन्य अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको हो। बिट क्वाइन, युएसडिटी, हाइपर फण्ड जस्ता अभौतिक मुद्राको किनबेचमा बैंक खाताको प्रयोग व्यापक भएको छ।
जनवरी २०२१ देखि जुलाई २०२५ सम्मको अवधिमा राष्ट्र बैंकले प्राप्त शंकास्पद कारोबार रिपोर्टअनुसार, २०२१ मा ४ घटना मात्र भेटिएका थिए भने २०२४ मा १९८ वटा पुगेको थियो। रिपोर्टअनुसार, २१–३५ वर्षका व्यक्तिहरूमा सबैभन्दा बढी (७५ प्रतिशत) संलग्नता रहेको पाइएको छ।
प्रतिवेदनले बैंक र वित्तीय संस्थाहरूलाई ग्राहक पहिचान, कारोबार निगरानी, आन्तरिक नियन्त्रण प्रणाली सुधार, कर्मचारी क्षमता विकास र जनचेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने सिफारिस गरेको छ। साथै, कानुन कार्यान्वयन निकायले ब्लकचेन विश्लेषण र डिजिटल प्रमाण अनुसन्धान क्षमतालाई मजबुत बनाउनु आवश्यक रहेको बताइएको छ।


