काठमाडौं। पुँजीगत रुपमा मजबुत बन्न एनआईसी एशिया बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले हाल कायम रहेको चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी थालेको हो।
बैंकको आइतबार विहान बसेको सञ्चालक समितीको ७४६ औं बैठकले हकप्रद सेयर जारी गर्न आवश्यक पूर्वसहमतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
राष्ट्र बैंकबाट अनुमति प्राप्त भएपछि उक्त प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ। साधारण सभाबाट अनुमोदन भएपछि मात्र हकप्रद सेयर निष्कासनको औपचारिक प्रक्रिया अघि बढ्नेछ।बैंकले सात अर्ब ४५ करोड ८७ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यका अनुसार बैंक हाल प्राथमिक पूँजी कोषको दबाबमा रहेकाले हकप्रद सेयर निष्कासन बैंकको टर्नअराउण्ड रणनीतिको महत्वपूर्ण हिस्सा बन्नेछ। उनका अनुसार बैंकसँग बजारमा कर्जा लगानीका लागि पर्याप्त तरलता उपलब्ध भए पनि पूँजी कोषको सीमाका कारण नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
“राष्ट्र बैंकको नियमानुसार बैंकहरूले आफ्नो जोखिम भारित सम्पत्तिको निश्चित प्रतिशत प्राथमिक पूँजी कायम गर्नुपर्छ। हामी अहिले ९ प्रतिशतको सीमाको आसपासमा छौँ, जसले गर्दा हामीसँग पर्याप्त पैसा भएर पनि नयाँ ऋण दिन सक्ने अवस्था छैन,” शाक्यले भने।
हकप्रद सेयर निष्कासनपछि बैंकको प्राथमिक पूँजी कोषमा प्रत्यक्ष वृद्धि हुने र त्यसले बैंकलाई ४० देखि ५० अर्ब रुपैयाँसम्म थप कर्जा प्रवाह गर्ने क्षमता प्रदान गर्ने उनको विश्वास छ। यसले बैंकको व्यवसाय विस्तार, आम्दानी वृद्धि र दीर्घकालीन वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसअघि न्यूनतम प्राथमिक पूँजी कोष कायम गर्न नसकेपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो। तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले पूँजी वृद्धि गर्न हकप्रद सेयर तथा अन्य वित्तीय उपकरण प्रयोग गर्न अनुमति दिएपछि बैंकले त्यस अवसरको उपयोग गर्न लागेको हो।
हाल बैंक करिब ६ अर्ब रुपैयाँको सञ्चित घाटामा रहेको छ। खराब कर्जा बढ्दै जाँदा त्यसका लागि ठूलो रकम प्रोभिजनिङमा राख्नुपर्दा बैंकको पूँजी कोषमा नकारात्मक असर परेको बैंकले जनाएको छ। सीईओ शाक्यका अनुसार विगतका यस्ता वित्तीय चुनौतीलाई सम्हाल्दै बैंकलाई पुनः नाफामूलक र सबल संस्थामा रूपान्तरण गर्न नयाँ पूँजीको इन्जेक्सन अनिवार्य भइसकेको छ।
हकप्रद सेयर निष्कासनको अर्को प्रमुख उद्देश्य निक्षेपकर्ताहरूको सुरक्षा सुनिश्चित गर्नु तथा बैंकप्रतिको जनविश्वास अझ सुदृढ बनाउनु रहेको बैंकले जनाएको छ। उनले हकप्रद सेयर निष्कासनपछि वित्तीय सूचकहरू क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
पूर्वगभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकलाई हकप्रद निष्काशनमा रोक लगाएका थिए। तर, गभर्नर प्राडा विश्वनाथ पौडेल आएपछि हकप्रदको प्रस्ताव आएको हो। एनआईसी एसिया बैंकले अहिलेसम्म साधारण सभाको मिति घोषणा गरेको छैन।


