काठमाडौं। अफिस, सपिङमल र अपार्टमेन्टसहितका मिश्रित आवासिय भवन निर्माणको क्रम बढेको छ। राजधानीको कान्तिपथमा अपार्टमेन्टसहितको १६ तलाको मिश्रित आवासीय भवन निर्माण हुने भएको छ।
मिश्रित आवास परियोजना ओएसिस होटल प्रालिले निर्माण गर्न लागेको छ।भवन निर्माणका लागि वातावरिण प्रभाव मूल्यांकनका लागि आएसिसले सुझाव मागेको छ।
प्रस्तावित मिश्रित आवासिय भवन सात रोपनी जग्गामा बन्ने भएको छ। भवनको क्षेत्रफल २२ हजार ७०९ वर्गमिटर, हरियाली क्षेत्र २०, खुला क्षेत्र ३९.२८ र ग्राउण्ड कभरेज कुल जग्गाको ४०.६६ वर्गमिटर रहने भएको छ।
प्रस्तवित भवनमा दुई तला भूमिगतसहित कुल १६ तला र उचाइ ५२ मिटरको हुनेछ।
प्रस्तावित भवनको भुइँ तलामा जिम, कार्यालय, हल, लवी, पहिलो र दोस्रो तलामा पसलहरू रहने भएका छन्।
तेस्रोदेखि छैटौं तल्लासम्म प्रत्येकमा ५ ५ वटा गरी कुल २० वटा अफिस स्पेश रहनेछ भने सातौ र आठौं तलामा बेन्क्वेट हल, बेन्क्वेट किचन, स्टोर रूम, मिटिङ्ग रूम, रिसेप्सन र स्टाफ किचन रहनेछ।
भवनको नवौंदेखि तेह्रौं तलासम्म प्रत्येकमा ८/८ वटा तीन बेडरुम, दुई बेडरुम र एक बेड एक हल र किचेन गरी कुल ४० वटा अपार्टमेन्टहरू रहने भएको छ।
भवन निर्माण चरणमा १५ हजार लिटर र सञ्चालन चरणमा ६९ हजार १०० लिटर दैनिक भूमिगत पानीको प्रयोग हुने, पानी भण्डारणको लागि कुल चार लाख १५ हजार लिटर क्षमताको विभिन्न ट्यांकी निर्माण गरिने भएको छ।
भवनको उत्तरमा पाँचतारे बाराही होटल, दक्षिणमा निर्वाचन आयोगको कार्यालय, पश्चिमतर्फ सार्क सचिवालयको कार्यालय र रेष्टुरेन्ट रहने कम्मपनीले जनाएको छ।


