काठमाडौँः सिद्धार्थ बैंक लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको छ। बैंकले कुल ३ करोड ५० लाख कित्ता यस्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। अविमोच्य असञ्चित अग्राधिकार शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिनेछ।
अविमोच्य भएकाले यस शेयरको भुक्तानी अवधि तोकिएको हुँदैन। साथै, असञ्चिति प्रकृतिको भएका कारण कम्पनीले मुनाफा कमाएको वर्षमा मात्र लाभांश वितरण गर्छ, बाँकी वर्षको लाभांश संकलित हुँदैन। नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार आवश्यक पर्ने अवस्थामा यो अग्राधिकार शेयर संस्थापक समूहको साधारण शेयरमा रूपान्तरण गर्न सकिन्छ।
उक्त अग्राधिकार शेयरको नाम ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर’ राखिएको छ। यस शेयरमा वार्षिक ८.२५ प्रतिशतका दरले लाभांश प्रदान गरिने व्यवस्था गरिएको छ। यसअघि नबिल बैंक, एनएमबी बैंक तथा कामना सेवा विकास बैंकले पनि यस्तै प्रकारका अविमोच्य असञ्चित अग्राधिकार शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेका छन्।
सिद्धार्थ बैंकको उक्त अग्राधिकार शेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बैंकका अनुसार यो शेयर संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्री गरिनेछ।


