काठमाडौँ- एन आई सी एशिया बैंकले अनुभवी वित्तीय विज्ञ रामकृष्ण खतिवडालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट (CFA) तथा चार्टर्ड इकोनोमिष्ट (CHE) हुनुका साथै पूर्वाधार विकास, परियोजना व्यवस्थापन, ऊर्जा नियमन तथा सार्वजनिक–निजी साझेदारी (PPP) जस्ता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव संगालेका छन्। उनी वित्त तथा व्यवस्थापन क्षेत्रमा दक्ष विज्ञका रूपमा परिचित छन्।
यसअघि उनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक, विद्युत नियमन आयोगमा सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडमा महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) मा फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, साथै लगानी बोर्ड नेपालमा उच्च पदमा रहेर काम गरेका थिए।
बैंकले खतिवडाको नियुक्तिलाई संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कदमका रूपमा लिएको छ।


