काठमाडौं। नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (च) ” निष्कासन गरेको छ। बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको जानकारी दिएको हो।
ऋणपत्र खरिदका लागि आजै अर्थात् २०८२ पुस २४ गते दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ। ऋणपत्र २०८३ पुस २४ गते परिपक्व हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने व्यवस्था मिलाइएको छ।
यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिनका लागि प्रयोग गर्न सक्नेछन्।


