काठमाडौँः नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गत रु. २५ अर्ब बराबरको ऋणपत्र बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ। बैंकले पुस २८ गतेका लागि एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (‘छ’) जारी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस २८ गते मध्याह्न २ बजेसम्म अनलाईन माध्यम मार्फत मात्र गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्काशन गरिनेछ भने व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। ऋणपत्रको साँवा भुक्तानी परिपक्व मितिमा तथा व्याज भुक्तानी निष्काशन शर्तअनुसार गरिनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र काउण्टरपार्टीका रूपमा सहभागी हुन पाउनेछन्। न्यूनतम रु. ४ करोड र अधिकतम आह्वान गरिएको रकमसम्म, करोड रुपैयाँका भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। व्याजदर दशमलवपछि चार अंकसम्म उल्लेख गर्नुपर्नेछ।
स्वीकृत बोल रकम निष्काशन मितिमा सम्बन्धित काउण्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभएमा बोल रद्द हुनुका साथै २.५ प्रतिशत हर्जाना र ६ महिनासम्म बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले धितोका रूपमा प्रयोग गर्न सक्नेछन् भने यो रकम अनिवार्य नगद मौज्दातमा गणना नहुने तर वैधानिक तरलता अनुपातमा समावेश गर्न सकिनेछ।
Write to Nepalclicks news


