काठमाडौँः होटल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। सोमध्ये १० प्रतिशत, अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको हो।
आईपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको यो निष्कासन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म बन्द हुनेछ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरेर वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।


