काठमाडौं। मदिरा उद्योगहरु पनि धमाधम साधारण सेयर (आईपीओ) निष्कासनतिर लागेका छन्। दुई उद्योगहरुले आईपीओ जारी गरी नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भइसकेका छन्।
यस्तै आइसीटीसी ग्रुपअन्तगर्तको हाइल्याण्ड डिष्टिलरी लिमिटेडले पनि आईपीओ निष्कासन गर्न लागेको छ। यही माघ २८ गते हुने प्रथम वार्षिक साधारणसभाबाट बुकबिल्डिङ वा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ।
सभाबाट पारित भएपछि उद्योगले आईपीओ जारीको प्रक्रिया अघि बढाउने भएको छ। कति प्रतिशत आईपीओ जारी गर्ने उद्योगले खुलाएको छैन्।
हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ८४ लाख रुपैयाँ छ। कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १५ करोड ३६ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। यस्तै कर तिर्ने प्रयोजनका लागि ८४ लाख रुपैयाँ दिने प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले कम्पनीको चुक्ता पुँजी वृद्धिका साथै प्रवन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। हाइल्याण्डले भर्जिन, गोर्खा एन्ड गन र बन्दिपुर ह्विस्किीका साथै हाइल्याण्डर र यति भोडकलगायत विभिन्न ब्राण्डमा मदिर उत्पादन गर्दै आएको छ।
हालसम्म आईपीओ निष्कासन गर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड र सागर डिष्टिलरी लिमिटेड रहेका छन्। यस्तै श्री डिष्टिलरी लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
श्री डिष्टिलरीले अंकित मूल्यमा नौ करोड ६० लाख रुपैयाँ बराबरको नौ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ।


