काठमाडौँ: ऋण दिएर व्यवसायलाई उद्धार गर्ने बैंकिङ क्षेत्र यतिबेला गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, निजी क्षेत्रको लगानी संकुचन र बढ्दो खराब कर्जाले बैंक तथा वित्तीय संस्था सञ्चालन र दीर्घकालीन दिगोपनामा चुनौती थपेको छ। यही जटिल परिवेशमा एनआईसी एशिया बैंकले आफ्नो व्यवसायिक रणनीति, जोखिम व्यवस्थापन प्रणाली र संगठनात्मक संस्कृतिमा आमूल परिवर्तन गर्ने उद्देश्यसहित ‘रूपान्तरण’ अभियान सुरु गरेको छ।
यो अभियानको नेतृत्व गरिरहेका छन्, बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य । २९ वर्ष लामो बैंकिङ अनुभव, नौ वटा बैंकमा सिनियर लेभलमा काम गरेको अनुभव र एनआईसी एशिया मा पहिले पनि आवद्व भएको भावनात्मक सम्बन्धका कारण शाक्यको पुनरागमनलाई सामान्य सीईओ नियुक्तिभन्दा पनि बैंकको रणनीतिक पुनर्संरचना, अर्थात् ‘रि–सेट’ का रूपमा हेरिएको छ।
अनुभवी नेतृत्वको पुनरागमन
शाक्यले यसअघि नबिल बैंकजस्तो स्थापित र परिपक्व संस्थामा वरिष्ठ व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका थिए। आठ वर्षपछि उनी पुनः एनआईसी एसियामा फर्कदा बैंक एउटा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। साढे ६ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित घाटा, कर्जा असुलीको दबाब र बजारमा कमजोर बन्दै गएको छविको बीचमा उनी बैंकलाई सुरक्षित अवतरण गराउने र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने मुख्य जिम्मेवारीसहित फर्किएका हुन्।
कार्यभार सम्हालेको तीन महिनाको अवधिमा शाक्यले बैंकको वित्तीय अवस्था, कर्जा संरचना, जोखिम प्रोफाइल, कर्मचारी मनोबल र सेवाग्राही धारणा गहिरो रूपमा अध्ययन गरिसकेका छन्। यही अध्ययनका आधारमा उनले आगामी चार वर्षलाई केन्द्रमा राखेर सुधारको स्पष्ट र यथार्थपरक मार्गचित्र (रोडम्याप) तयार पारेका छन्। कार्यभार सम्हालेको दुई महिनामा ऋण लगानी र असूलीमा सुधार देखिएको छ।
‘आक्रामक बैंकिङ’बाट विवेकशील मोडेलतर्फ
बैंक विगतमा तीव्र शाखा विस्तार, साना तथा मझौला कर्जामा आक्रामक प्रवेश र उच्च बजार हिस्साको रणनीतिका कारण परिचित थियो। यही रणनीतिले छोटो अवधिमा बैंकलाई ठूलो बनायो। तर, कोभिड–१९ पछि आएको आर्थिक मन्दीले यही मोडलको कमजोरी उजागर गरिदियो।
झण्डै ९५ प्रतिशत कर्जा साना व्यवसायमा केन्द्रित हुँदा आर्थिक संकटको पहिलो प्रहार यही वर्गमा पर्न गयो। परिणामस्वरूप बैंकको कर्जा असूलीमा गम्भीर दबाब सिर्जना भयो। सीईओ शाक्यका अनुसार अब बैंकले अघिल्लो शैली दोहोर्याउने छैन।
‘अब हामी आक्रामक बजार विस्तारमा होइन, विवेकशील, मर्यादित र सन्तुलित बैंकिङमा केन्द्रित छौँ,’ उनी भन्छन्।कर्जा विस्तारभन्दा गुणस्तर, जोखिम व्यवस्थापन र दीर्घकालीन स्थायित्वलाई प्राथमिकतामा राखिएको उनी सुनाउछन्।
असुली दबाब होइन, समाधानमुखी दृष्टिकोण
बैंकको वर्तमान सबैभन्दा ठूलो चुनौती कर्जा असुली नै हो। तर सीईओ शाक्यको दृष्टिकोण परम्परागत छैन। उनको विश्लेषणमा अहिले बजारमा ‘नियत खराब’ ऋणीभन्दा ‘मन्दिका कारण समस्यामा परेका’ ऋणीको संख्या बढी छ। कोभिडपछिको आर्थिक मन्दी, निर्माण क्षेत्र र उपभोग घट्नुले धेरै व्यवसायी संकटमा परेका छन्।
नेपाल क्लिक्ससँग कुरा गर्र्दै सीईओ शाक्यले भने ‘जग्गाको मूल्य घटेको छ। धितो लिलाम गर्दा पनि पूरा सावाँ–ब्याज उठ्ने अवस्था छैन। यस्तो अवस्थामा ऋणीलाई थप दबाब दिनु मात्रै समाधान होइन।’
त्यसैले बैंकले ऋणीको वास्तविक अवस्था बुझ्ने, व्यवसाय पुनरुत्थानमा सहयोग गर्ने र नियामक नेपाल राष्ट्र बैंकले दिएका उपकरणहरुलाई उपयोग गरी ‘सफ्ट ल्यान्डिङ’ गर्ने रणनीति अपनाएको छ। यसले दीर्घकालमा बैंकको जोखिम घटाउने विश्वास गरिएको छ।
शाक्यका अनुसार आगामी दुई वर्षभित्र बैंकको कर्जा पोर्टफोलियोलाई ७० प्रतिशत रिटेल तथा एसएमई र ३० प्रतिशत कर्पोरेट तथा पूर्वाधार क्षेत्रमा पुर्याउने लक्ष्य लिइएको छ। यसमा जलविद्युत, पर्यटन क्षेत्र, उधोग र टे«डिङ्ग प्रमुख प्राथमिकतामा रहनेछन्।
संगठनात्मक संस्कृतिमा परिवर्तन
एनआईसी एशिया बैंकसँग जोडिएको अर्को आलोचना कर्मचारीको व्यवहार र आक्रामक सेवा शैली थियो। सीईओ शाक्यले पदभार सम्हालेसँगै यो छविलाई बदल्न आन्तरिक सुधार अभियान सुरु गरेका छन्। उनले नियमित ‘टाउन हल’ बैठकमार्फत कर्मचारीहरूसँग संवाद बढाएका छन् र सेवाग्राही–मैत्री व्यवहारलाई प्राथमिकता दिएका छन्।
‘हामी बाहिर मात्र होइन, भित्रबाटै परिवर्तन हुनुपर्छ,’ उनी भन्छन्।
कर्मचारीको मनोबल उच्च राख्नु, उनीहरूलाई सुरक्षित र सम्मानित महसुस गराउनु र त्यसको प्रतिफल ग्राहक सेवामा देखिनु—यही अहिलेको मुख्य एजेन्डा हो। रुखोपन, दबाब र अति लक्ष्य–केन्द्रित कठोर संस्कृतिलाई हटाएर मर्यादित बैंकिङ संस्कृतिको विकास बैंकको दीर्घकालीन लक्ष्य बनेको छ। विगतमा गरेका तुच्छ ब्यवहारको शैलीबाट बाहिर निस्कन सबै कर्मचारी निर्देशन दिएका छन्।
साना कर्जाबाट कर्पोरेटतर्फ जाने नीति
जोखिम सन्तुलनका लागि बैंकले आफ्नो व्यवसायिक पोर्टफोलियो पुनर्संरचना गर्दैछ। यस रणनीतिलाई शाक्यले ‘पोर्टफोलियो फ्लिप’ को संज्ञा दिएका छन्। साना कर्जालाई पूर्ण रूपमा त्यागिने छैन। तर, कर्पोरेट ऋण, व्यापार वित्त, एलसी बिजनेस र शुल्क–आधारित सेवाको हिस्सा क्रमशः बढाइनेछ।
कर्पोरेट बैंकिङबाट विदेशी विनिमय आम्दानी, सेवा शुल्क र तुलनात्मक रूपमा सुरक्षित आम्दानी हुने भएकाले बैंकको वित्तीय स्वास्थ्य सुदृढ हुने उनको विश्लेषण छ। ‘हाम्रो लक्ष्य साना कर्जा घटाउने होइन, पोर्टफोलियोलाई सन्तुलित बनाउने हो,’ उनी भन्छन्।
ऋण स्वीकृतिमा केन्द्रीकरण र गुणस्तरमा जोड
शाक्यले नेतृत्व सम्हाल्नेबित्तिकै चालेको एउटा महत्वपूर्ण रणनीतिक कदम भनेको ऋण स्वीकृत गर्ने अधिकारको केन्द्रीकरण हो।
विगतमा शाखा प्रबन्धकलाई दिइएको ऋण स्वीकृत गर्ने अधिकारले व्यापार त बढायो, तर गुणस्तरमा सम्झौता भयो। अब शाखा प्रबन्धकसँग व्यापारको लक्ष्य रहनेछ, तर ऋण स्वीकृत गर्ने निर्णय केन्द्रका स्वतन्त्र अधिकारीले गर्नेछन्।
‘सेन्ट्रलाइज्ड क्रेडिट अथोरिटीले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट घटाउँछ। अब लगानी धितो मात्र हेरेर होइन, ऋणीको नगद प्रवाह र बजारको वास्तविक मागका आधारमा हुनेछ,’ शाक्य भन्छन्। यो ‘डबल चेक’ प्रणालीले भविष्यमा खराब कर्जा बढ्न नदिने बलियो सुरक्षा कवचको काम गर्ने अपेक्षा गरिएको छ।
खराब कर्जा र जोखिम व्यवस्थापन
आर्थिक मन्दीका कारण समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या देखिएको छ। एनआईसी एशियामा पनि साना व्यवसायीको कर्जा भुक्तानीमा चुनौती देखिएको छ। तर, शाक्य यसलाई दीर्घकालीन संकटको रूपमा हेर्दैनन्।
‘हाम्रो कर्जा अधिकांश धितोमा आधारित छ । साना ब्यवसायमा बढी केन्द्रीत भएकाले र विगत केही वर्षमा साना ब्यवसायमा असफलतादर उच्च भएकोले डिफल्टको सम्भावना उच्च देखिए पनि वास्तविक नोक्सानी कम छ,’ उनी भन्छन्।
उनका अनुसार त्यसैले ‘प्रोब्याबिलिटी अफ डिफल्ट’ बढे पनि ‘लस गिभन डिफल्ट’ कम भएकाले बैंक तुलनात्मक रूपमा सुरक्षित अवस्थामा छ। अर्को राम्रो कुरा भनेको कतिपय अरु बैंक जस्तै एनआईसी एसियासँग एउटै ग्राहक / ग्रुपमा ५०—६० करोड / १—१.५ अर्ब रुपैयाँको कर्जाको समस्या नभएको सीईओ शाक्य बताउछन्।
शाक्यको पहिलो प्राथमिकता रिकभरी नै हो। उनले ऋणीलाई ‘विलफुल डिफल्टर’ र ‘सिचुएसनल डिफल्टर’ गरी छुट्याएर हेर्ने नीति अपनाएका छन्। अहिले सिचुएसनल डिफल्टरको संख्या बढेकाले समय र सहयोग दिएर रिकभरी सम्भव हुने उनको विश्वास छ। आगामी दुई वर्षमा पुराना ऋणीको रिकभरी गर्दै करिब १ खर्ब रुपैयाँको नयाँ, गुणस्तरीय कर्जा पोर्टफोलियो निर्माण गर्ने लक्ष्य बैंकले लिएको छ।
‘चमत्कार होइन, क्रमिक सुधार’
सीईओ शाक्यको बैंकिङ दर्शन स्पष्ट र यथार्थपरक छ। उनी ’जादु’ वा ’चमत्कार’ मा विश्वास गर्दैनन्। उनले भने ‘अहिलेको संकटपूर्ण अवस्थामा मबाट कुनै रातारात हुने ’चमत्कार’ को अपेक्षा कसैले पनि गर्नु हुँदैन। बैंक तथा देशको अर्थतन्त्र अहिले जुन मोडमा छ, यसलाई सुधार्न र देखिने गरी नतिजा निकाल्न कम्तीमा दुई वर्ष लाग्छ। हामी विवेकशील बैंकिङ र क्रमिक सुधारमार्फत बैंकलाई पुनः पुरानै लयमा फर्काउने छौँ।’
उनका अनुसार बैंकको छविलाई पुनः स्थापित गर्न र कर्मचारीको मनोबल बढाउनु नै अहिलेको सबैभन्दा ठूलो ’टर्नअराउण्ड’ हुनेछ।
बैंक हाल करिब साढे ६ अर्ब रुपैयाँको सञ्चित घाटामा रहेको तथ्य उनी लुकाउँदैनन्। तर घाटाबाट बाहिर निस्कन बैंकसँग स्पष्ट योजना छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको परपेचुअल बन्ड जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ, जसले पूँजी कोष मजबुत बनाउने अपेक्षा गरिएको छ।
साथै २ः१ अनुपातमा हकप्रद सेयरको लागि पनि राष्ट्र बैंकसँग स्वीकृति माग्ने काम शुरु भएको छ। कतिपय बैंकमा संस्थापकहरु आफ्ना संस्थापक सेयरहरु एक सय रुपैयाँ भन्दा कममा बिक्री गरी बाहिरिने गरेको पाइएको छ।
तर, एनआईसी एसियाका मुख्य संस्थापकहरुले अहिलेका बिषम परिस्थितिमा पनि हकप्रद सेयरबाट पुँजीवृद्धि गर्न तयार रहेको कुरालाई सञ्चालक समितिले बैंक व्यवस्थापनतर्फ विश्वास गरेको तथा ‘टर्नएराउन्ड प्लान’ प्रति विश्वास रहेको देख्न सकिन्छ।
राष्ट्र बैंकसँगको समन्वय र भविष्यको आशा
वर्तमान राष्ट्र बैंकको नेतृत्व (गभर्नर)ले बैंकहरूको समस्या बुझिदिएको र सहजीकरण गरिदिएकोमा सीईओ शाक्यले खुशी व्यक्त गरेका छन्। राष्ट्र बैंकले दिएको शाखा समायोजनको सुविधा र अन्य नीतिगत लचकताले बैंकलाई सुधारको बाटोमा जान मद्दत पुगेको उनको भनाई छ।
भविष्यतर्फको दृष्टि
४० लाखभन्दा बढी ग्राहकहरूको विश्वास बोकेको एनआईसी एशिया बैंकले अहिलेको संकटलाई आत्ममूल्यांकन र पुनर्जन्मको अवसरका रूपमा लिएको छ। विगतका कमजोरीबाट पाठ सिक्दै, कर्जा पोर्टफोलियो सन्तुलनमा ल्याउँदै र संगठनात्मक संस्कृतिमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता बैंकका सीईओले व्यक्त गरेका छन्।
आगामी दिनहरु एनआईसी एशिया बैंकका लागि केवल वित्तीय सुधारको अवधि मात्र होइन, ‘मर्यादित बैंकिङ’ को नयाँ अध्याय सुरु गर्ने निर्णायक समय हुने देखिन्छ।


