काठमाडौँः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भैरहेको छ। बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताको कार्यक्रम बेलुका ५ बजेसम्म चल्नेछ। देश निर्वाचनमा जाने भएपछि त्यसको प्रभाव सेयर बजारमा परेको छ।
साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४२.२६ अंकले बढेर २ हजार ७१४.८१ विन्दुमा बन्द भएको हो।
आज २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ५ कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ ।


