काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गरेर तरलता प्रशोचन गर्न थालेको छ। बैंकिङ प्रणालीमा हाल ८ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको अवस्थामा मौद्रिक स्थायित्व कायम गर्न राष्ट्र बैंकले विभिन्न औजार प्रयोग गर्दै आएको छ।
यसअघि यति ठूलो परिमाणको तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण र रिभर्स–रेपो पर्याप्त नपुगेपछि राष्ट्र बैंकले दीर्घकालीन समाधानका रूपमा बन्ड (ऋणपत्र) जारी गर्न थालेको थियो। बन्ड जारी भएपछि बैंकहरूले दीर्घकालीन अवधिका लागि तरलता व्यवस्थापन गर्न सक्ने र ब्याजदरमा देखिने अस्थिरता कम हुने अपेक्षा गरिएको थियो।
तर, पछिल्लो समय राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरणलाई नै प्राथमिकतामा राखेर तरलता प्रशोचन गर्न थालेको देखिन्छ। राष्ट्र बैंकका अनुसार माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ७ गते (आज) थप २० अर्ब रुपैयाँ गरी चालु महिनामै ४० अर्ब रुपैयाँ तरलता निक्षेप संकलन उपकरणमार्फत तानिएको छ।
यससँगै हालसम्म राष्ट्र बैंकले यस उपकरणमार्फत कुल ४ खर्ब ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंकिङ प्रणालीमा तरलताको अवस्था हेरेर आवश्यकताअनुसार विभिन्न मौद्रिक औजार प्रयोग गरिने बताए। उनका अनुसार तरलता अत्यधिक भएमा प्रशोचन गर्ने र अभाव भएमा प्रवाह गर्ने नीति अनुसार राष्ट्र बैंकले कदम चाल्दै आएको छ।
त्यसैगरी, राष्ट्र बैंकले हालसम्म ९ वटा ऋणपत्र जारी गरी करिब २ खर्ब रुपैयाँ बराबरको तरलता व्यवस्थापन गरिसकेको छ। तर, बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा विस्तार अपेक्षाकृत रूपमा हुन नसक्दा तरलता निष्क्रिय अवस्थामा थन्किन पुगेको देखिन्छ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले निजी क्षेत्रमा जम्मा ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्। कर्जा प्रवाहको गति सुस्त रहँदा बैंकहरूमा लगानीयोग्य पुँजी प्रयोगविहीन अवस्थामा रहेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ३.९ प्रतिशत वृद्धि भई ७४ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। निक्षेप बढिरहँदा पनि कर्जा विस्तार हुन नसक्नु बैंकिङ प्रणालीका लागि मुख्य चुनौती बनेको छ।
विश्लेषकहरूका अनुसार कर्जा प्रवाह कमजोर हुनुका प्रमुख कारणहरूमा उद्योग तथा व्यापार क्षेत्रमा लगानी वातावरणको अभाव, घरजग्गा बजारको सुस्तता, राजनीतिक अनिश्चितता, सरकारी पुँजीगत खर्चको न्यून प्रगति र निजी क्षेत्रको लगानीमा देखिएको हिचकिचाहट रहेका छन्। यी कारणले बैंकहरूमा जम्मा भएको ठुलो निक्षेप अर्थतन्त्रमा सक्रिय रूपमा परिचालन हुन सकेको छैन।
यस अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन दुवै खालका मौद्रिक औजार प्रयोग गरिरहँदा पनि कर्जा माग नबढेसम्म तरलताको समस्या दीर्घकालीन रूपमा समाधान हुन कठिन देखिएको छ।


