काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उछाल आएको छ। अघिल्लो कारोबार दिन गत बिहीबार सामान्य अंकले बढेको नेप्से यसदिन २.१२ प्रतिशतले बढेको हो।
आइतबार बजार खुलेदेखि नै निरन्तर बढ्दै गएको नेप्से ५७.५५ अंकले बढेर २ हजार ७७२.१७ विन्दुमा पुगेको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत बिहीबार ९ अर्ब ७ करोडको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर खरिदबिक्री भएको छ।
आज २४० कम्पनीको शेयरमूल्य उकालिँदा १९ कम्पनीको शेयर भने घटेको छ। बाँकी एक कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
आज ८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको छ। त्रिशुली जलविद्युत र क्रेस्ट माइक्रो लाइफको शेयरमूल्यमा पनि उच्च वृद्धि देखियो।
१०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ का लगानीकर्ताले भने सर्वाधिक ५.८० प्रतिशत गुमाएका छन्।


