काठमाडौँ: चुनावमा हुने आर्थिक क्रियाकलापलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले उम्मेदवारका लागि अनिवार्य रूपमा अलग बैंक खाता खोल्नुपर्ने व्यवस्था लागू गरिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यससम्बन्धी निर्देशन जारी गरेको हो।
निर्वाचन आयोगको गत शुक्रबार उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्न पाउने व्यवस्थाका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। उक्त आग्रहपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र पठाउँदै राजनीतिक दल, ती दलबाट उम्मेदवार बनेका व्यक्ति तथा स्वतन्त्र उम्मेदवारको नाममा छुट्टै खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
परिपत्रअनुसार प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सिफारिसका आधारमा आम निर्वाचन अभियानसँग सम्बन्धित सबै आम्दानी र खर्च नेपाली मुद्रामा सोही खातामार्फत गर्नुपर्नेछ। उम्मेदवारको पहिले नै खाता रहेको बैंकमै समेत नयाँ खाता खोल्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले निर्वाचनसम्बन्धी सम्पूर्ण आर्थिक कारोबार यही खाताबाट गर्नुपर्ने स्पष्ट पारेको छ। निर्वाचन आयोगबाट खाता बन्द गर्ने औपचारिक निर्णय नआएसम्म यस्तो खाता सञ्चालनमा रहनेछ।


