काठमाडौँः सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक १ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंक नोक्सानीमा गएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी ५५ लाख रुपैयाँबाट बढेर ८६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८ करोड ६२ लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज रिभर्स गरेकाले नाफामा रहेको थियो। तर चालु आर्थिक वर्षको सोही अवधिमा १७ लाख ८८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज हुँदा बैंक नोक्सानीमा पुगेको हो।
पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा कायम रहेको छ। साथै, सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकले ५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


