काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको ब्याज आम्दानी तथा नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सामान्य सुधार देखिएको छ।
बैंकले समीक्षा अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो आवमा ४ अर्ब ३१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आवमा ७६ करोड ५० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ।
बैंकले वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, बैंकको लाभांश क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत कायम भएको छ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत तथा रिटर्न अन इक्विटी १३.१९ प्रतिशत रहेको छ।
अन्य वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिसेयर आम्दानी ३०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २१.३९ गुणा तथा तरलता अनुपात ३२.५७ प्रतिशत कायम भएको छ।


