काठमाडौँः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी र नाफा दुवैमा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.०५ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आवमा ६ अर्ब ३६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ। यद्यपि, बैंकको खुद शुल्क तथा कमिशन आम्दानीमा भने सामान्य सुधार देखिएको छ। अघिल्लो आवमा १ अर्ब ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आवमा ५.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात दोस्रो त्रैमाससम्म बढेर ७.९० प्रतिशत पुगेको छ।
न्यस्तै, बैंकले आफ्नो कस्ट अफ फण्ड भने घटाउन सफल भएको छ। अघिल्लो आवमा ४.६३ प्रतिशत रहेको कस्ट अफ फण्ड समीक्षा अवधिमा घटेर ३.६३ प्रतिशतमा झरेको छ।
अन्य वित्तीय सूचकहरूअनुसार समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७७९.७९ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात २०.२० गुणा कायम भएको छ।


