काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।
बैंक फर इन्टरनेसनल सेटलमेन्टसद्वारा चीनको थिआनचिनमा आयोजित २० औं एसिया प्यासेफिक हाइलेभल मिटिङ अन बैंकिङ सुपरिभिजन कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटका अवसरमा नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ। साथै वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयबीच छलफल भएको थियो।
यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडमार्पmत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमासमेत छलफल भएको थियो। सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखेका थिए।
चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गरेका छन्।
भेटका अवसरमा पीबीओसीका अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्पmबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको सहभागिता थियो।


