काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नबिल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको खुद नाफा वार्षिक रूपमा ४६.७१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत र खुद शुल्क तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेको छ। साथै, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ।
नबिलले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गरेपछि बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ।
पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सोही अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा पुगेको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी(इपिएस) पनि बढेको छ। समीक्षा अवधिमा इपिएस ११ रुपैयाँ ६ पैसा वृद्धि भई ३५ रुपैयाँ ४ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको मूल्य–आम्दानी अनुपात (पी रेसियो) १३.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ।


