काठमाडौँ: चालू आर्थिक वर्षको दोस्रो त्रैमास (छ महिना)मा वाणिज्य बैंकहरूको वित्तीय अवस्था सुधारिँदै जाँदा सरकारको कर संकलनमा पनि सकारात्मक प्रभाव देखिएको छ। बैंकहरूको खुदनाफा बढेसँगै सरकारको आयकर (कर्पोरेट ट्याक्स) वृद्धि भएको छ।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको पहिलो अर्धवार्षिक अवधिमा वाणिज्य बैंकहरूबाट संकलित आयकर १५.३३ प्रतिशत बढेको छ। २० वटा वाणिज्य बैंकहरूमध्ये लक्ष्मी सनराइज बैंकबाहेक अन्य सबै बैंकबाट सरकारलाई आयकर बुझाएका छन्।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूले एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढी कर सरकारलाई बुझाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम एक अर्ब १७ करोड रुपैयाँ मात्र थियो। गत वर्षको तुलनामा यो वर्ष बैंकहरुले १८ करोड रुपैयाँ बढी कर बुझाएका छन्।
नेपालको कर संरचनाअनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत कर्पोरेट ट्याक्स तिर्नुपर्ने व्यवस्था छ। यही कर संरचनाअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै आयकर तिर्ने बैंकका रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको थियो। उक्त बैंकले एक आर्थिक वर्षमा तीन अर्ब २७ करोड रुपैयाँभन्दा बढी कर दाखिला गरेको थियो।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तथ्याङ्क हेर्दा बैंकहरूबीच कर योगदानमा ठूलो भिन्नता देखिन्छ।
बैंकहरूको कर योगदान सिधै उनीहरूको नाफा, ब्याज आम्दानी, कर्जा गुणस्तर र सञ्चालन खर्चसँग जोडिएको हुन्छ। चालू आर्थिक वर्षमा केही बैंकले आक्रामक सुधार गरे पनि केही बैंक अझै दबाबमा रहेको देखिन्छ।
समग्रमा, वाणिज्य बैंकहरूको प्रदर्शन सुधारिँदै जाँदा सरकारी राजस्वमा सकारात्मक योगदान देखिनु अर्थतन्त्रका लागि उत्साहजनक संकेत मानिएको छ। आगामी त्रैमासमा बैंकहरूको नाफा थप सुधार भएमा आयकर संकलन अझै बढ्ने अपेक्षा गरिएको छ।
कसले कति तिरे कर?
नबिल बैंक
नबिल बैंकले सबैभन्दा धेरै आयकर तिरेको छ। नबिल बैंकले चालु अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ आयकर तिरेको छ। यो गत वर्षको १ अर्ब ३९ करोडभन्दा निकै बढी हो। खुद नाफामा अग्रस्थानमा रहेकाले आयकरमा पनि नबिल सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ। अघिल्लो वर्षको तुलनामा यसको कर योगदान उल्लेख्य रूपमा बढेको हो। जसको प्रमुख कारण खुद नाफामा आएको वृद्धि हो।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले १ अर्ब १३ करोड रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षको तुलनामा केही कम हो। गत आवको सोही अवधिमा बैंकले एक अर्ब १५ करोडको आयकर तिरेको थियो। यो बैंक सरकारका ठूला करदातामध्ये निरन्तर रहँदै आएको छ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले १ अर्ब ५ करोड रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षभन्दा २ करोड बढी हो। गत आवको सोही अवधिमा एक अर्ब ३ करोडको कर तिरेको थियो।
प्रभु बैंक
प्रभु बैंकले आयकर ९५ करोड रुपैयाँ आयकर तिरेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १८ करोड आयकर तिरेको थियो। नाफा घटेको प्रत्यक्ष असर कर योगदानमा देखिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकको आयकर १ अर्ब २१ करोडबाट घटेर ७२ करोड रुपैयाँमा झरेको छ। यस बैंकको पनि नाफा घट्नुको असर करमा देखिएको छ।
कुमारी बैंक
कुमारी बैंकले आयकर ४१ करोडबाट बढाएर १ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ। नाफामा आएको असाधारण वृद्धिले कुमारी बैंकलाई यस वर्ष कर योगदान सुधार गर्ने बैंकको सूचीमा अग्रस्थानमा पुर्याएको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको आयकर ६१ करोड रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिमा २३ करोड रुपैयाँ थियो । नाफामा आएको तीव्र सुधार कर तिर्ने क्षमतामा स्पष्ट रूपमा देखिएको छ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको आयकर बढेर ७५ करोड पुगेको छ । गत आवको सोहि अवधिमा बैंकको आयकर ३२ करोड थियो। नाफामा आएको उल्लेख्य सुधार सीधै कर संकलनमा देखापरेको हो।
सानिमा बैंक
चालु आर्थिक वर्षको ६ महिनामा सानिमा बैंकको आयकर ५५ करोड रहेको छ। गत वर्षको सोहि अवधिमा बैंकको आएकर ३६ करोड थियो। नाफा र ब्याज आम्दानी दुवै बढेकाले कर दायित्वमा उल्लेख्य वृद्धि भएको हो।
प्राइम कमर्सियल बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको आयकर ८७ करोड रहेको छ । गत आवको सोहि अवधिमा बैंकको आयकर ७९ करोड रहेको थियो । नाफा सुधारसँगै कर योगदान पनि बढेको हो।
माछापुच्छ्रे बैंक
चालु आवको ६ महिनामा माछापुच्छ्रे बैंकको आयकर ४३ करोड रहेको छ । गत आवको सोहि अवधिमा बैंकको आयकर ३४ करोड रहेको थियो। नाफा सुधारसँगै बैंकको कर योगदान पनि क्रमशः बढ्दो क्रममा छ।
हिमालयन बैंक
हिमालयन बैंकको आयकर ६५ करोडबाट घटेर ५३ करोड रुपैयाँमा झरेको छ। खुद नाफा र ब्याज आम्दानी दुवै घटेकाले कर तिर्ने क्षमता कमजोर भएको हो।
एनएमबी बैंक
एनएमबी बैंकको आयकर ८३ करोडबाट घटेर ६८ करोड रुपैयाँमा झरेको छ। ब्याज आम्दानी बढे पनि नाफा घटेकाले कर तिर्ने क्षमता कमजोर भएको देखिन्छ।
सिटिजन्स इन्टरनेसनल बैंक
सिटिजन्स बैंकको आयकर २६ करोडबाट घटेर १५ करोड रुपैयाँमा झरेको छ। नाफा घटेकै कारण कर योगदान पनि घटेको हो, जसले बैंक दबाबमा रहेको देखाउँछ।
कृषि विकास बैंक
कृषि विकास बैंकको आयकर ३९ करोडबाट घटेर ३० करोड रुपैयाँमा झरेको छ। नाफा घटेकाले कर योगदान पनि खुम्चिएको छ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ४४ करोड २० लाख रुपैयाँ आयकर तिरेको छ, जुन गत वर्षसँग लगभग बराबर छ । स्थिर नाफा भएकाले कर योगदान पनि स्थिर देखिन्छ।
लक्ष्मी सनराइज बैंक
सबैभन्दा कमजोर अवस्था लक्ष्मी सनराइज बैंकको देखिएको छ। बैंक घाटामा रहेकाले चालू अवधिमा यसले आयकर तिरेको छैन।
एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले ६ महिनामा २४ करोड ५ लाख रुपैयाँ आयकर तिरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ६ करोड ५० लाख रुपैयाँ आयकर तिरेको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा ५८ करोड ८५ लाख रुपैयाँ आयकर तिरेको छ। यो गत वर्षको ७० करोड ३१ लाखको तुलनामा कमी हो। खुद नाफा घटेकै कारण कर दायित्व पनि घटेको स्पष्ट हो।
नेपाल बैंक
नेपाल बैंकको आयकर २२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले तिर्ने कर चार करोड २५ लाखले ऋणात्मक देखिएको थियो।


