काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा प्रवाह ३.६ प्रतिशतले मात्र बढेको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो।
गत पुससम्म बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा एक खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.२ प्रतिशत बढेर दुई खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ थियो। वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कर्जा प्रवाह १२ प्रतिशत बढ्ने अनुमान गरेको छ। यो लक्ष्य पुरा गर्न झण्डै सात खर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ। अहिलेको अवस्था हेर्दा यो लक्ष्य पूरा हुने देखिँदैन। यद्यपि, आम निर्वाचनपछि कर्जा विस्तार बढ्ने संभावना पनि छ।
२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ र ३५.८ प्रतिशत थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७, विकास बैंकहरूको २.९ र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशत बढेको छ।
पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ। घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत रहेको छ। २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ र ६४.९ प्रतिशत थियो।
चालू आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१, निर्माण क्षेत्रमा ७.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ६.२, औद्योगिक उत्पादन क्षेत्रतर्फ ४.४ र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत थियो।
यस्तै सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८, हायर पर्चेज कर्जा ७.३, क्यास क्रेडिट कर्जा ३.०, माग तथा अन्य चालु पुँजी कर्जा २.९, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ। यस्तै अधिविकर्ष कर्जा (ओभरड्राफ्ट कर्जा ३.३ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशत बढेको छ। गत पुससम्म चार खर्ब १७ अर्ब ४८ करोड रुपैयाँ निक्षेप बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत अर्थात दुई खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ बढेको थियो।



