काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई रकम फिर्ता दिन प्रक्रिया अघि बढाएको छ। कार्यालयले बचतकर्तालाई बचत रकम दाबीका लागि आवेदन दिन भनेको छ।
कार्यालयले संस्थाबाट पाउनुपर्ने बचत माग दावी पेश गर्न गत असार १७ मा २१ दिने तथा मिति २०८२ साउनमा १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
‘उक्त अवधिमा बचत मागदावी गर्न छुट भएको भनी कार्यालयमै उपस्थित भई दावी पेश भै रहेको हुँदा पुनः यो सूचना प्रकाशित गरिएको छ’ समितिको कार्यालयले भनेको छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अनलाईन वा कार्यालयमै उपस्थित भई मागदावी पेश गर्न सम्बन्धित सरोकारवाला सबैको लागि यो सूचना प्रकाशित गरिएको समितिले जनाएको छ।
उक्त अवधिमासमेत दावी पेश नभएमा सूचनाको अवधिसम्म पेश भएका अनलाईन तथा कार्यालयमा उपस्थित भई पेश भएका दावीहरुलाई कायम गरी बचत फिर्ता प्रकृयालाई अगाडि बढाइने भएको छ।
तोकिएको समय भन्दा पछि प्राप्त हुने दावीलाई दोश्रो चरणमा क्रमश फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ। कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारीलाई २०८१ पुसमा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।
गत वर्ष पुसमा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो।
सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर ठगी आरोपमा पूर्पक्षका लागि थुनामा छन्। मगरसहित सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र खोलेको थियो ।


