एक मात्र निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला कांग्रेसको राजनीति ०४८ सालदेखि एकै नामको वरिपरि घुम्यो– दिलेन्द्रप्रसाद बडू। जित होस् या हार, कांग्रेस नेतृत्वले उनलाई सधैँ प्रेम गरिरह्यो, प्राथमिकतामा राखिराख्यो।
२०४८ मा नेकपा (प्रजातन्त्रवादी)का चन्द्रदेव जोशीलाई पराजित गरी निर्वाचित भएका बडू त्यसयता हरेक आम निर्वाचनमा उम्मेदवार बने। २०५१ को मध्यावधि निर्वाचन, २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनलाई कांग्रेसले टिकट दियो तर जित निकाल्न सकेनन्। २०७४ को निर्वाचनमा उनलाई कांग्रेसले समानुपातिक सूचीमा राख्यो। २०५६ र २०७९ को निर्वाचनमा भने उनी निर्वाचित भए। यसरी पटक–पटक मौका पाएर चार पटक सांसद बनेका उनी पाँचपटक मन्त्रीसमेत भए।
तर समय सधैँ एकनास हुँदैन। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीभित्र विद्रोह गर्यो। भृकुटीमण्डपमा पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापति निर्वाचित भए। कांग्रेसको यो रूपान्तरणसँगै आगामी निर्वाचनका लागि अधिकांश नयाँ र युवा उम्मेदवारले मौका पाएका छन्।
यो विद्रोहसँगै दार्चुलामा बडूको तीन दशक लामो विरासतले कोल्टे फेर्यो। पुराना र पाका नेता बडू आफैले संसदीय यात्रालाई विश्राम दिने निर्णय गरे। र, कांग्रेसले यसपालि अन्तर्राष्ट्रिय छवि बनाएका बौद्धि युवा नेता धर्मानन्द जोशीलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ। यो केवल उम्मेदवारको हेरफेर मात्र होइन, दार्चुला कांग्रेसमा एउटा युगको अन्त्य र नयाँ युगको सुरुवात पनि हो।

जोशी दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशसिंह सामन्तलगायत १० उम्मेदवारविरुद्ध चुनावी मैदानमा छन्।
को हुन् जोशी?
धर्मानन्द जोशी राष्ट्रिय राजनीतिमा मात्रै होइन धेरै सांगठनिक कांग्रेसीहरूका लागि पनि अपरिचित नाम हो। तर बौद्धिक जमात, कानुनी क्षेत्र र समाजसेवामा भने यो नाम नौलो होइन।
सन् १९७५ मा दार्चुलाको शैल्यशिखर ८ पपरथलाको एक सामान्य किसान परिवारमा जन्मिएका जोशीले ७ कक्षामा पढ्दाताका १४ वर्षको उमेरमै घर छाडे। डेरामा बसेर उनले आफ्नो बाँकी अध्ययन अघि बढाए। डेरामा बस्न बाँझा घर लिपपोत गरे। गोठालो गए। घाँसदाउरा गरे। घण्टौँ पैदल हिँडेर खोलामा छेलिएर स्कुल पुगे। कतिपटक त बाढीमा हेलिँदा पनि झण्डै ज्यान जोगिएको अनुभव आफूसँग भएको जोशी बताउँछन्। यो उनको मात्रै होइन, काठमाडौँबाट दूर सुदूर दार्चुलाका आम नागरिकको समान अनुभव हो।
बाल्यकालमै उनलाई अनुभवले समयभन्दा पहिले परिपक्व बनायो।
झुलाघाटबाट मट्टीतेल किनेर ल्याइ टुकी बालेर भविष्य खोज्ने उनै जोशी समयक्रमसँगै संयुक्त राष्ट्र संघ (यूएन)सम्म पुगे। कानुनमा स्नात्तोकत्तर गरेका जोशीसँग यूएनमा १५ वर्षभन्दा लामो समय मानवअधिकार र द्वन्द्व व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभव छ।
अफगानिस्तान र इराकका युद्धग्रस्त गल्लीदेखि जेनेभा र न्यूयोर्कका सुविधायुक्त कार्यकक्षसम्मको दुई दशक लामो अनुभव सँगालेर अधिवक्ता जोशी अन्तत: आफ्नै गाउँ फर्किए र समाजसेवामा लागे।
उनले व्यक्तिगत पहलमा २२ लाखको अक्षयकोषसहित मातृभूमि छात्रवृत्ति अक्षयकोश स्थापना गरे। दार्चुलाका २ विद्यालय हुनैनाथ मावि रातामाता र गलैनाथ मावि झारकडामा ११/११ लाख रुपैयाँको अक्षयकोश स्थापित गरी त्यसबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष ५/५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। साथै उत्कृष्ट तीन/तीन जना शिक्षकलाई सम्मान पनि प्रदान गरिँदै आएको छ।
‘मातृभुमी छात्रवृत्ति अक्षयकोष’ को रकम अझै थप्दै जाने र आगामी दिनमा अझैँ विस्तारित हुने उनको भनाइ छ। उनी भन्छन्, ‘शिक्षा नै समाज निर्माणको बलियो आधार हो। शिक्षामा लगानी बढाएमा समाज आफैँ परिवर्तन हुँदै जान्छ। त्यसैले विद्यार्थीलाई हौसला प्रदान गर्न मैले आफ्नोतर्फ सक्ने सानो पहलकदमी लिएको हुँ। सरोकारवालाले शिक्षा क्षेत्रमा अझैँ थप लगानी गर्न आवश्यक छ।’

शिक्षाबाहेक समस्यामा परेका विभिन्न मानिसहरूलाई पनि उनले सहयोग प्रदान गर्दै आएका छन्। मालिका गाउँपालिकाका संघसंस्थासँग समन्व्य गरी स्थानीय अस्पतालमा १६ थान स्ट्रेचर प्रदान गरेका जोशीले संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरूसँग समन्वय गरी २०७८ साउनमा तुइन तर्ने क्रममा मृत्युवरण गरेका जयसिंह धामीको परिवारलाई डेढ लाख रुपैयाँ उपलब्ध गराएका थिए।
स्वच्छ छवि भएका जोशी सुशासन पक्षपाती समाजसेवीका रूपमा चिनिन्छन्। समाजसेवाको चाहना आफूमा अग्रजबाट सरेको उनी बताउँछन्। उनकै पितापुर्खा विष्णुदत्त जोशीले दान गरेको जग्गामा श्री मसिना आधारभूत विद्यालय सञ्चालन भैरहेको र यसले धेरै बालबालिकालाई शिक्षाप्रदानमा सहयोग गरिरहेको छ।
जोशी २००० देखि २००६ सम्म सामाजिक न्यायका लागि गरिएको आन्दोलनमा संलग्न थिए। २००६ देखि २००९ सम्म संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सेवाअन्तर्गत शान्ति र राजनीति क्षेत्रमा तथा त्यसपछि २०१९ सम्म अफगानिस्तान र इराक लगायतका देशमा द्वन्द्व व्यवस्थापनमा रहेर काम गरेका थिए। विद्यार्थीका रूपमा लोकवतान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागेका उनी कानुनी क्षेत्रको सुधारका लागि नेपाल बारले गरेका आन्दोलनमा पनि सहभागी भएका थिए। मानवीय मामिला, मानव अधिकार मामिला, राजनीतिक र चुनावी मामिलामाका लागि भारत, थाइल्याण्ड, मौरिसस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, युएई, कतारलगायत देशमा पुगेर तालिम प्राप्त गरेको अनुभव उनीसँग छ।
विभिन्न सामाजिक कार्यपछि नीति निर्माण क्षेत्रमै पुगेर शिक्षा, स्वास्थ्य, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्नसकिने निष्कर्षसहित आफू संसदीय उम्मेदवार बनेको उनी बताउँछन्।
आफ्नै थातथलो फर्किएर समाजसेवामा लागेका उनी भन्छन्, ‘मैले जीवनमा धेरै परीक्षा दिएको छु। दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिनका लागि म संसदीय उम्मेदवार बनेको हुँ।’


