काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभाले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गरेको छ।
साधारणसभाले पारित गरेपछि हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढेको छ। हकप्रद सेयर जारीका लागि कम्पनी विद्युत नियमन आयोग हुँदै नेपाल धितोपत्र पुग्नुपर्ने हुन्छ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरेर तीन अर्ब २० करोड रुपैयाँ जुटाउने छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर बढेर छ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले ५४ मेगावाटको सुपरदोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। प्रसारण लाइनको समस्या देखाउँदै नेपाल विद्युत प्राधिकरणले बिजुली खरिद नगर्दा आयोजनाको आम्दानीमा असर परेको छ।प्राधिकरणले बिजुली नकिन्दा आयोजनाले शेयरधनीलाई लाभांश दिन सकेको छैन्।
यसअघि कम्पनीले हकप्रदबाट संकलन हुने पुँजीको ५० प्रतिशत बैंकको ऋण तिर्न र ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी आयोजनामा लगानी गर्ने लक्ष्य लिएको थियो।
बैंकको ऋण बढ्दै गएपछि कम्पनी हकप्रद शेयर निष्काशन गरेर दायित्व घटाउन निश्कर्षमा पुगेको हो। कम्पनीको ऋण दायित्व आठ अर्ब रुपैयाँ बढी छ। सानिमा बैंकको अगुवाइमा ऋण लगानी भएको छ।
पिपुल्स हाइड्रोपावरले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
यसअघि कम्पनीको १७ औं वार्षिक साधारणसभाबाट १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरी ५० प्रतिशत रकम बैंक ऋण घटाउने र अर्को ५० प्रतिशत रकम कम्पनीको नाममा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता एवं वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता हुन नसकेको कारण हकप्रद शेयर निष्काशन हुन नसकेकोमा हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने सम्पूर्ण रकम बैंक ऋण घटाउने प्रयोजनमा खर्च गर्ने गरी पेश भएको प्रस्ताव नियामक निकायको स्वीकृति लिई निष्काशन गर्ने प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ।
कम्पनीको नाममा उत्पादन अनुमतिपत्र प्राप्त ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना कम्पनीको सहायक कम्पनीको रुपमा दर्ता भएको हिमचुली पावर कम्पनीको नाममा हस्तान्तरण र नामसारी गर्ने सञ्चालक समितिको निर्णयबमोजिम विद्युत विकास विभागमा अनुरोध गरिएकोमा विभागबाट सैद्धान्तिक सहमति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।
हाल विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ (पाँचौ संशोधन) को दफा २३ बमोजिम आयोजना हस्तान्तरण र नामसारीको लागि साधारणसभाको निर्णय आवश्यक पर्ने नयाँ व्यवस्था भएअनुसार उक्त हिमचुली दोर्दी आयोजना हिमचुली पावर कम्पनीको नाममा हस्तान्तरण र नामसारी गर्ने भनी पेश भएको प्रस्ताव सर्वसम्मत रुपमा निर्णय गरिएको जानकारी पिपुल्सले दिएको छ।
हाल पिपुल्स हाइड्रोपावर कम्पनीको नाममा रहेको हिमचुली दोर्दी आयोजना यस कम्पनी वा हस्तान्तरण गरिलिने हिमचुली पावर कम्पनीले निर्माण नगर्ने अवस्था भएमा हालसम्म पिपुल्स हाइड्रोपावरको तर्फबाट हिमचुली आयोजनाको लागि भएको खर्च उठ्ने गरी कुनै कम्पनी वा व्यक्तिले लिन चाहेमा दिनेसम्मको अख्तियारी सञ्चालक समितिलाई दिनेगरी प्रस्तुत प्रस्तावसमेत सर्वसम्मत रुपमा पारित गरेको छ।


