काठमाडौँ: राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली र उनीहरूको मताधिकारका विषयमा दिएको अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गम्भीर आपत्ति जनाएको छ।
एक सार्वजनिक कार्यक्रममा झाँक्रीले विकसित मुलुकमा पीआर लिएर बसेकाहरूलाई भोट हाल्ने व्यवस्था र दोहोरो नागरिकताको मागमाथि प्रश्न उठाउँदै आलोचना गरेकी थिइन्। उनले अनलाइनबाट भोट हाल्ने व्यवस्थालाई ‘जुम आईडी’ सँग तुलना गर्दै व्यङ्ग्य गरेकी थिइन् भने नेपालमै बसेर पसिना बगाउने मजदुरहरूभन्दा बाहिर बस्नेहरू ‘मागी खाने’ वर्ग भएको आशयको विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
उक्त अभिव्यक्तिको खण्डन गर्दै एनआरएनए अमेरिकाले प्रेस विज्ञप्ति जारी गर्दै झाँक्रीको उक्त अभिव्यक्तिले विश्वभर रहेका नेपालीहरूको मानमर्दन भएको भन्दै आपत्ति जनाएको छ।
एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको नीति नियम तर्जुमा गर्ने निकाय राष्ट्रिय सभाको सदस्य तथा पूर्वमन्त्री जस्तो ओहोदामा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ। यसले एनआरएन नागरिकता कार्यान्वयनको जटिलता भइरहेका बेला थप संशय पैदा गरेको छ।’
विज्ञप्तिमा झाँक्री आवद्ध दल (नेकपा एमाले) को समेत ध्यानाकर्षण गराउँदै सार्वजनिक पदमा बसेका व्यक्तिहरूलाई तथ्यमा आधारित र सम्मानजनक धारणा राख्न आग्रह गरिएको छ।
विश्वभर छरिएर रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र सुदृढीकरण, विकास निर्माण, आपतकालीन सहयोग, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा ऐतिहासिक योगदान दिँदै आएको स्मरण गराउँदै एनआरएनएले यस्ता योगदानको अवमूल्यन नगर्न चेतावनी दिएको छ।
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै एनआरएनए अमेरिकाले नेपालीहरूको अधिकार र राष्ट्रिय एकताको पक्षमा सदैव दृढ रहने प्रतिबद्धता समेत जनाएको छ।
झाँक्रीले आफ्नो सम्बोधनमा खाडी मुलुकमा श्रम गर्ने नेपालीहरू र अमेरिका/युरोपमा बस्ने नेपालीहरूबीच तुलना गर्दै मताधिकार र नागरिकताको विषयमा विवादास्पद अभिव्यक्ति दिएकी थिइन्, जसको सामाजिक सञ्जाल र डायस्पोरामा तीव्र आलोचना भइरहेको छ।


