काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।
पूर्ण इजलासमा तीन वा सोभन्दा बढी न्यायाधीश हुन्छन्। यसअघि एकल इजलासबाट उक्त मुद्दा संयुक्त इजलासमा ल्याइएको थियो। मल्ल र पौडेलको इजलासले नियमित सुनुवाईका लागि पेस गर्न आदेश गरेसँगै आइतबारदेखि उक्त रिटमाथि नियमित सुनुवाई हुने भएको छ।
गत पुस ३० गते सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको महान्यायाधीवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित जिल्लाका जिल्ला सरकारी वकिल कार्यालयलाई स्वीकृति प्रदान गरेको थियो।
महान्यायाधीवक्ताको उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्चमा रिट दायर गरेका थिए।


