काठमाडौँ: नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेती ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
फागुन २८ गते बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरी ले उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन्। शपथपछि उप्रेतीले संस्थाको उद्देश्य, विधान र मूल्य–मान्यताअनुसार नाडालाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अटोमोबाइल क्षेत्रको विकास, सदस्य व्यवसायीहरूको हित संरक्षण तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने बताए।
बैठकमा अध्यक्ष उप्रेतीले महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी लाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन्। साथै निकट भविष्यमा पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
यसअघि नाडाको निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदन पाटन उच्च अदालत ले खारेज गरेपछि नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि कानुनी अवरोध हटेको थियो। अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थाले शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो।
अदालतको निर्णयपछि नाडाले उक्त विषयमा स्पष्टता आएको र संस्थालाई आगामी दिनमा थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण निर्माणका लागि सदस्य तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।


