काठमाडौँ: गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि केही समय सुस्ताएको अटोमोबाइल व्यवसाय विस्तारै लयमा फर्किँदैछ। गत मंसिरदेखि नै क्रमश: अटोमोबाइल व्यवसायले अहिले लय पक्रिरहेको व्यवसायीहरू बताउँछन्। प्रतिनिधिसभा निर्वाचनबाट स्पष्ट बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल स्थिर सरकार बन्ने पक्का भएसँगै व्यवसायीहरू व्यवसायले गति लिनेमा आशावादी देखिएका छन्।
निर्वाचनपछि अटोमोबाइल बजारमा नयाँ रौनक देखिएको छ। बजारमा गाडी किन्न र बुझ्न आउनेको चहलपहल बढेको नारायणी अटो बिजनेसका सञ्चालक अनुपकुमार बराल बताउँछन्। बजारमा सवारीसाधनको बढ्दो बिक्रीसँगै उत्साह थपिएको र नयाँ वर्षमा यसपटक व्यवसाय सकारात्मक हुने अपेक्षा उनको छ।
नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै कार विक्रेता कम्पनीहरूले एकपछि अर्को गर्दै आक्रामक बजार रणनीति र आकर्षक योजनाहरू सार्वजनिक गरिरहेका छन्। नेपाली बजारमा सक्रिय करिब दुई दर्जन कार ब्रान्डमध्ये अधिकांशले अहिले ग्राहक तान्न विभिन्न किसिमका स्कीम ल्याएका छन्। विशेषगरी पुराना गाडी साटेर नयाँ विद्युतीय वा इन्धन गाडी लिन चाहने उपभोक्तालाई लक्षित गरी एक्सचेन्ज क्याम्पहरूलाई मुख्य अस्त्र बनाइएको छ।
एलआरआर मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जिली ईएक्स५’ मा ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ नामको विशेष योजना सार्वजनिक गरेको छ। चैत १ देखि वैशाख ७ गतेसम्म चल्ने यस योजनाअन्तर्गत गाडी किन्ने ग्राहकले २ जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको अवसर पाउनेछन्। यसका साथै स्मार्ट कफी मेसिन, नगद छुट, बीमा र सडक दस्तुरमा सहुलियत जस्ता प्याकेजले ग्राहकलाई आकर्षित गरिरहेको छ।
विश्वकप फुटबलको माहोललाई व्यवसायीकरण गर्दै हुन्डाईले टेस्ट ड्राइभ क्याम्पेन सुरु गरेको छ। यसअन्तर्गत भाग्यशाली एक जोडीले सन् २०२६ मा अमेरिकामा हुने विश्वकप फुटबल प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।
यस्तै, टाटा मोटर्सले मोटरसाइकल र स्कुटर प्रयोगकर्तालाई कारमा अपग्रेड गराउने लक्ष्य राखेको छ। विशेषगरी टियागो ईभीमार्फत दुईपाङ्ग्रे सवारीधनीलाई चारपाङ्ग्रेको अनुभव दिलाउन कम्पनीले निरन्तर नयाँ योजनाहरू ल्याइरहेको छ। लक्ष्मी ई–मोबिलिटीले ‘फोर्थिङ फ्राइडे’ ईभीमा ७ लाख रुपैयाँसम्मको बचत हुने ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर ल्याएको छ। यसमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट र निःशुल्क टायर तथा चार्जर जस्ता सुविधाहरू समावेश छन्।
त्यस्तै, दीपल, अभतार, सेरेस र नामी जस्ता ब्रान्डहरूले संयुक्त रूपमा ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्दैछन्। चैत १२ देखि १४ गतेसम्म चल्ने यो मेलामा ग्राहकले एउटै थलोमा विभिन्न ब्रान्डका गाडीहरू तुलना गरेर साटफेर गर्न सक्नेछन्।
पछिल्लो समय अटो व्यवसायीहरूले सिधै नगद छुट दिनुभन्दा एक्सचेन्ज बोनस र अतिरिक्त सुविधामार्फत गाडी बेच्ने रणनीति अपनाएका छन्। पुराना गाडीको उचित मूल्याङ्कन नहुँदा नयाँ गाडी किन्न हिचकिचाउने ग्राहकका लागि यस्ता ‘एक्सचेन्ज क्याम्प’ हरू प्रभावकारी देखिएका छन्।


