काठमाडौं। भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिलदेखि सवारी साधनहरूको मूल्यवृद्धिको घोषणा गरेको छ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार तथा एसयूभीहरूको मूल्य बढाउन लागेको जानकारी दिएको हो। टाटा मोटर्सका अनुसार कच्चा पदार्थ र उत्पादन लागतमा भइरहेको निरन्तर वृद्धिको असरलाई कम गर्न यो निर्णय लिइएको हो।
कम्पनीले भनेको छ,‘आइसीई पोर्टफोलियोमा औसत मूल्य वृद्धि ०.५ प्रतिशत हुनेछ। मोडल र भेरियन्ट अनुसार मूल्यवृद्धि दर फरक–फरक हुन सक्छ।’
यसअघि सोमबार मात्रै कम्पनीले आफ्ना व्यावसायिक सवारी साधनको मूल्यमा पनि १.५प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको थियो, जुन अप्रिल १ देखि नै लागू हुनेछ।
मूल्य वृद्धिको घोषणाबीच सोमबार भारतीय सेयर बजारमा टाटा मोटर्सको मूल्य २.८१ प्रतिशत बढेर ४३७.६० भारुमा बन्द भएको छ। विलासी कार निर्माता मर्सिडीज–बेन्ज इन्डियाले पनि हालै आफ्नो गाडीको मूल्य बढाएको थियो।
अटोमोबाइल क्षेत्र हाल विभिन्न संरचनात्मक चुनौतीहरूसँग जुधिरहेको छ। कच्चा पदार्थको बढ्दो मूल्य, आपूर्ति शृङ्खलामा अवरोध र पछिल्लो समय देखिएको मेमोरी चिपको अभावले उत्पादनमा असर पारेको ‘एलारा सेक्युरिटिज’को रिपोर्टले औंल्याएको छ।
रिपोर्टका अनुसार, सन् २०२६ को सुरुवात विश्वव्यापी अटो बजारका लागि उत्साहजनक देखिएको छैन्। जनवरी २०२६ मा चीनमा सवारी साधनको बिक्री ६.८ प्रतिशत, अमेरिकामा ०.८ प्रतिशत र युरोपमा ३.९ प्रतिशत गिरावट आएको छ।
बढ्दो लागत र कमजोर मागकाबीच टाटा मोटर्सले गरेको यो मूल्य वृद्धिले उपभोक्तालाई भने थप आर्थिक भार पर्ने देखिएको छ।


