काठमाडौँ: अर्थमन्त्री स्वर्णिम वाग्लेले अटोमोबाइल क्षेत्रको कर घटाउने बताएका छन्। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा अर्थमन्त्रीलाई भेट्न पुगेको प्रतिनिधिमण्डललाई अर्थमन्त्री वाग्लेले सरकार राजस्व संकलनमा वृद्धि ल्याउने र कर पनि घटाउनेगरी काम गरिरहेको बताए।
राजस्वमा वृद्धि हुने गरी करको दर घटाउन चाहेको, राजस्वको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन उनले दिए। सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउँदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो।
छलफलको क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल उद्योग फस्टाउनका लागि आयातित कच्चा पदार्थहरूमा छुट दिनुपर्ने बताएका थिए। आयातकर्तालाई केही सहज भए पनि उद्योगहरूलाई कठिनाइ भइरहेको उनको भनाइ थियो। उप्रेतीले टायर ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेट जस्ता विभिन्न अटोमोवाइल वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नभएकोले व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेकाले सरकारले अटोमोवाइल वस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह उनले गरे।
अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित राय सुझावहरू समेत पेस गरेका थिए।
नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनेन्ट उद्योगहरूको ठूलो सम्भावना रहेको बताए। विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति नियमहरूको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरूको सम्बर्द्धन र प्रवर्द्धनका लागि आवश्यक नीतिहरूको बारेमा चर्चा गरे। भारतमा जीएसटी घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने धारणा राखे।
यस्तै नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरूलाई प्रोत्साहन दिनुपर्ने बताए।


