काठमाडौँ: नेपालमा बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्काशनको प्रक्रिया तीव्र बन्दै गएको छ। यसअन्तर्गत पाँच वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)सँग सम्झौता गरेका छन्।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न कम्पनीहरूले नेप्सेसँग सहकार्य गरेका हुन्।
सम्झौता गर्ने कम्पनीहरूमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड रहेका छन्।
नेप्सेका अनुसार नर्भिक र जगदम्बा स्पिनिङ्ग मिल्सले चैत २२ गते, टाइम फर्मास्युटिकल्सले चैत २४ गते तथा लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युव आयलले वैशाख ३ गते सम्झौता गरेका हुन्।
नर्भिक बीएलसी ग्लोबल होल्डिङसले सञ्चालन गरिरहेको छ। यस्तै जगदम्बा स्पिनिङ र लक्ष्मी स्टील्स सौरभ ग्रुपअन्तर्गतको कम्पनी हो। टाइम्स बुकबिल्डिङबाट आईपीओ जारी गर्ने पहिलो औषधी कम्पनी हुने भएको छ।
कम्पनीहरूले संस्थागत लगानीकर्ताका लागि छुट्याएको सेयरमध्ये नर्भिकले ८ लाख १६ हजार ४ सय ८० कित्ता, जगदम्बाले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६ सय कित्ता, लक्ष्मी स्टील्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयलले ६ लाख कित्ता सेयर छुट्याएका छन्।
नर्भिकले माग्यो संस्थागत लगानीकर्ताको सुझाव
नर्भिक इन्टरनेशनल हस्पिटलले बुक बिल्डिङ निर्देशिकाअनुसार प्रारम्भिक विवरणपत्रमार्फत योग्य संस्थागत लगानीकर्ताबाट सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत आशय मूल्य, न्यूनतम सेयर माग र मूल्यांकनका आधारबारे सुझाव मागिएको छ।
यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत संस्थागत लगानीकर्तालाई वैशाख ११ गते छलफलमा सहभागी हुन आह्वान गरिएको छ।
टाइम फर्मास्युटिकल्सको पूँजी विस्तार योजना
टाइम फर्मास्युटिकल्सले विशेष साधारणसभामार्फत बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ। कम्पनीले चुक्ता पूँजी ४२ करोड ९१ लाख रुपैयाँबाट बढाएर ४६ करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ।
उद्योगले जारी पूँजीको २०.६५ प्रतिशत आईपीओमार्फत निष्काशन गर्ने तयारी गरेको छ। सन् १९९४ मा स्थापना भई १९९७ देखि औषधि उत्पादन सुरु गरेको टाइममा अल्फा क्यापिटल लिमिटेडको १३ प्रतिशत स्वामित्व छ भने अन्य प्रमुख लगानीकर्तामा राजु कर्मचार्य, झनकान्त भट्ट र नारायणबहादुर क्षेत्री रहेका छन्।
जगदम्बा स्पिनिङ मिल्सको योजना
जगदम्बा स्पिनिङ मिल्सले पनि बुक बिल्डिङमार्फत आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न वैशाख १० गते साधारण सभा बोलाएको छ।
शौरभ समूहअन्तर्गत सञ्चालनमा रहेको यो उद्योगले उत्पादन गरेको धागोको करिब ९५ प्रतिशत भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ। कम्पनी कच्चा पदार्थमा आयातमा निर्भर भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले यसको व्यवसायमा प्रभाव पार्न सक्छ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनले नेपाली पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ। यसअघि रिलायन्स स्पिनिङ मिल्सलाई पनि यसै विधिबाट आईपीओ निष्काशन गर्न अनुमति दिइएको थियो।


