काठमाडौँ: नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधिले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्यसूची (एमआरपी) सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ।
छलफलमा नाडा प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको आयातित वस्तुमा अनिवार्य एमआरपीसहितको स्टिकर टाँस्नुपर्ने व्यवस्था स्पेयर पार्ट्सका लागि अव्यवहारिक रहेको बताए। उनीहरूले यस्तो व्यवस्था कार्यान्वयनका लागि विगतको समयदेखि नाडाले विभागलाई अनुरोध गर्दै तथा चारपाङ्ग्रे र दुईपाङ्ग्रेमा समस्या नभए पनि एउटै बक्सभित्र सयौँको संख्यामा आउने अटोमोबाइल स्पेयर पार्टसहरूको हकमा भने समस्या रहेको बताए।
भन्सारमा वण्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्यसूची सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक नभएको उनीहरूको भनाइ थियो।
नाडा प्रतिनिधिसँगको उक्त छलफलमा महानिर्देशक भण्डारीले सबै किसिमका अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताएको नाडाले विज्ञप्ति जारी गरी बताएको छ।


