काठमाडौँ: सर्वोच्च अदालते सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
भट्टकी श्रीमती आयुस्मा नेपाल र अग्रवालका बुवा शंकरलाल अग्रवालले उनीहरूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित थुनामुक्त गर्न मागसहित दायर गरेको रिट खारेज भएको हो।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेजको फैसला गरेको हो। रिट खारेज भएसँगै अब उनीहरू थप १२ दिन हिरासतमै रहने भएका छन्। विशेष अदालतले बुधबार मात्रै अग्रवालविरुद्ध छैटौँ र भट्टविरुद्ध पाँचौँपटक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ। न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूविरुद्ध अनुसन्धानका लागि म्याद थप गरेको हो।
भट्टसँग कनेक्सन देखिएपछि गत वैशाख १० गते पक्राउ परेका उद्योगी शेखर गोल्छा भने सर्वोच्च अदालतको परमादेशपछि मंगलबार छुटिसकेका छन्।


