सरकारले लगानीमैत्री जति कुरा गरे पनि नेपालमा सोचेअनुसार विदेशी लगानी बढ्न सकेको छैन्। वास्तवमा हाम्रो नेपाल के हो त? नेपालमा विकासको कुरा गर्दा हामी पर्यटन, जडीबुटी, जलस्रोत आदिको कुरा मात्र गर्छौँ। तर, मेरो सोच र विचार अलि भिन्न छ।
वास्तवमा भन्ने हो भने नेपाल संसारकै ‘वान अफ द बेस्ट इन्डस्ट्रियल प्लेस’ हो। उद्योग राख्न संसारमा यदि कुनै उपयुक्त ठाउँ छ भने त्यो नेपाल हो। किन भने म यसको कारण भन्छु। हामी यस्तो ठाउँमा छौँ, जहाँ विश्वको दुई–तिहाइ जनसंख्या हाम्रो एक घण्टाको एरियल डिस्टेन्स (हवाई दूरी) मा छ।
जस्तै– एकतिर चीन, अर्कोतिर भारत, बंगलादेश, पाकिस्तान छन्। कुनै पनि वस्तु उत्पादन भइसकेपछि सबैभन्दा पहिला बजार चाहिन्छ। हामीले उत्पादन गरेको वस्तुहरु बजार नजिक छ। जहाँ जनसंख्या बढी भएको ठाउँमा बजार हुन्छ। त्यसैले बजारको लागि यो पहिलो पोजिसन भयो।
दोस्रो कुरा, पेट्रोलियम पदार्थ उत्पादन तथा निर्यातका कारण अरब देशहरू धनी भएका छन्। त्योभन्दा हामीसँग स्वच्छ ऊर्जा छ। हामीसँग जलविद्युतको जति संभावना छ, त्यसलाई प्रयोग गरेर हामी विश्वको सबैभन्दा धनी राष्ट्र हुनुपर्ने हो। उद्योग गर्न ऊर्जा चाहिन्छ। हामीसँग स्वच्छ र विश्वकै सबैभन्दा सस्तो ऊर्जा छ। त्यसैले नेपालमा उद्योग लगाउन संभव छ।
तेस्रो कुरा, उद्योग गर्न सस्तो जनशक्ति पनि चाहिन्छ। भारत,नेपाल, बंगलादेश र पाकिस्तान अहिले संसारको सबैभन्दा सस्तो म्यानपावर भएका मुलुक हुन्। जुन म्यानपावरलाई अहिले खाडी मुलुक जान ५० हजार रुपैयाँ लाग्छ। हामीकहाँ दुई हजार रुपैयाँ तिरेर बस चढेर आउन सकिन्छ। त्यसैले सस्तो म्यानपावर पनि हामीकहाँ छ।
चौथो र सबैभन्दा ठूलो कुरा, भगवानले हामीलाई दिएको स्वच्छ र अनुकुल वातावरण हो। अमेरिका,जर्मनी वा खाडी मुलुकमा वातावरण व्यवस्थापनका लागि कति ऊर्जा खर्च हुन्छ? ५० डिग्रीको तापक्रमलाई चिसो बनाउन होस् वा हिउँ परेको ठाउँलाई तातो बनाउन ऊर्जा नै खर्च हुन्छ। त्यो ऊर्जा खपत गरेर मात्र त्यहाँ बस्न सकिन्छ र त्यही ऊर्जाबाट हामी वस्तु उत्पादन गर्न सक्छौं।
हाम्रो देशमा यति राम्रो वातावरण छ कि अधिकतम ४० डिग्री तापक्रम केही ठाउँमा १५ दिन मात्र हुन्छ होला, बाँकी समय हामी आरामसँग पंखाको भरमा व्यवस्थापन गर्न सक्छौँ। त्यसैले वातावरण व्यवस्थापन गर्न पनि यहाँ ऊर्जाको खर्च हुँदैन। वस्तु उत्पादनका लागि जे जति चाहिन्छ, त्यो १०० मा १०० प्रतिशत हाम्रो देशमा उपलब्ध छ।
तर, यति संभावना हुँदाहुँदै पनि मुलुक किन अघि बढ्न सकेन? सबैभन्दा पहिला, स्वदेशी वा विदेशी कुनै पनि उद्योग लगाउन आउँदा पहिला जग्गा चाहिन्छ। यहाँ व्यक्तिलाई दिने र उद्योगलाई दिने जग्गाको मापदण्ड एउटै छ। एउटा व्यक्तिले पनि १०–२० बिघा राख्न पायो, एउटा उद्योगले पनि त्यति नै।
एउटा बहुराष्ट्रिय कम्पनीले यहाँ आएर अर्बौँ रुपैयाँ लगानी गर्छ भने उसले १० बिघा जग्गाले के गर्छ? सबैभन्दा पहिला त जग्गाको कायम नीति छ, त्यसलाई परिमार्जन गरेर उद्योग खोल्नका लागि धेरै हुने व्यवस्था गर्नुपर्छ।
दोस्रो कुरा, पूर्वाधार विकासको हो। कुनै पनि उद्योग आउँदा उसलाई बाटो र बिजुली चाहिन्छ। जहाँ बाटो र बिजुली पुगेको छ, त्यहाँको जग्गाको मूल्य अहिले अमेरिकाको भन्दा पनि महँगो छ।
उद्योगीले त्यहाँ जग्गा थप्न पर्यो भने यति ठूलो ‘ब्ल्याकमेलिङ’ हुन्छ कि उसले किन्न सक्दैन। त्यसैले राज्यले सबैभन्दा पहिला बाटो र बिजुलीको पहुँच भएको पूर्वाधार तयार गरिदिनुपर्छ। हामीकहाँ विशेष आर्थिक क्षेत्र छ भन्छौँ। तर, त्यहाँ पनि सीमितताहरू छन्।
तेस्रो कुरा, बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरू अधिकांश कर्मचारी नै हुन्छन्, मालिक होइनन्। उनीहरूले नीतिमा एकरूपता (कन्सिस्टेन्सी) खोज्छन्। विशेष गरी कर, अन्तःशुल्क र भन्सारका दरहरूमा एकरुपता र स्थिरता खोजेका हुन्छन्।
कर नीति कम्तीमा १५ वर्षका लागि हुनुपर्छ। उद्योग लगाउनै ४–५ वर्ष लाग्छ, त्यसपछि सञ्चालनमा आएर नाफाघाटा बराबर (ब्रेक इभन) को अवस्थामा आउन अरू ४–५ वर्ष लाग्छ। लगानीकर्ता यहाँ दान (च्यारिटी) गर्न आएको होइन, नाफा कमाउन आएको हो।
नेपालमा कसैले प्रगति गर्यो भने जसरी हुन्छ त्यसलाई खुट्टा तानेर सिध्याउने खेल हुन्छ। यो नेपालीहरुमा देखिएको ठूलो समस्या हो। उद्योगमा कतिपय अवस्थामा नियतवश वा झुक्किएर कुनै ‘प्रोडक्ट’ बिग्रन सक्छ।
त्यस्ता काम उत्पादकले गर्दैन। केही कर्मचारीको बदमासीका कारण त्यस्तो भएको हुन्छ। त्यो कुरा मिडियामा पुग्यो भने त्यसलाई यति ठूलो ‘इस्यु’ बनाइन्छ कि त्यो ब्रान्डको अस्तित्व नै सकिने अवस्थामा पुग्छ। यो पनि एउटा गलत अभ्यास हो। उद्योगीलाई प्रोत्साहन गर्नुको सट्टा यस्ता कुराले विदेशी लगानीकर्ता डराउँछन्।
अर्को कुरा, मानसिक शान्ति हो। यहाँ त करमा ठूलो लफडा हुन्छ। एक वर्षअघि एउटा कुरा भनिन्छ, अर्को वर्ष अर्कै। ४–५ वर्ष अगाडिको करको मूल्यांकन गरेर निर्धारण गरिन्छ। अन्त्यमा कर चुक्ता भइसकेपछि पनि महालेखा परीक्षकको कार्यालयले यो मिलेन,त्यो मिलेन भन्छ।
त्यसपछि त्यो कुरा मिडियामा जान्छ र यति ठूलो ‘घोटाला’ भनेर प्रचार गरिन्छ कि मान्छेले आफ्नो सर्वस्व बेचेर निस्कँदा पनि तिर्न पुग्दैन। यस्तो अनिश्चितता भएपछि नेपालमा कसले लगानी गर्छ?
नेपालमा उद्योग खोलेपछि दायित्व कति धरै आउँछ भन्न सकिन्न। नेपालमा जति पनि बहुराष्ट्रिय कम्पनीहरू आएका छन्, ती सबैले राम्रो नाफा कमाएका छन्। कोही पनि घाटामा छैनन्। माओवादी द्धन्द्धकालमा कोलगेट फिर्ता गयो, त्यसपछि यस्तो अवस्था आएको छैन।
यहाँ भएका विदेशी कम्पनीहरुले राम्रो नाफा गर्दा पनि नेपालमा थप लगानी किन आएन त? यो नै गम्भीर प्रश्न हो। लगानी आकर्षित गर्न जग्गा, कर नीति र वातावरणको ग्यारेन्टी हुनुपर्छ।
कुनै लगानीकर्ता पनि व्यवस्था गर्न आउँदा झमेलामा पर्न चाहँदैन। अहिले त झन् प्रदेशको कर, प्रदूषण कर, के के कर! सातवटा प्रदेशमा छुट्टाछुट्टै झमेला भएपछि कसरी उद्योग चल्छ?
राज्य, सञ्चार माध्यम र समाजले उद्योग व्यवसाय र लगानीकर्तालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ। अहिले दुई–तिहाइको सरकार छ। यसमा हामी आशावादी छौँ। लगानीमेत्री कानूनहरू छिटोछिटो बन्नेछन्। नयाँ सरकार आएपछि आशाको किरण पलाएको छ। तर, कानुन र नीतिसँगै व्यवहार पनि परिवर्तन हुनुपर्छ।
लगानीकर्तालाई सम्मान गर्ने दृष्टिकोण हुनुपर्छ। जसले हजारौँलाई रोजगारी दिएको छ, उसको समयको मूल्य पनि हुनुपर्छ। जबसम्म औद्योगिक वातावरण बन्दैन तबसम्म संविधान स्वर्ण अक्षरले लेखेर हीराले डिको दिए पनि स्वदेशी तथा वैदेशिक लगानी आउन सक्दैन। मुलुक विकास गर्न स्वदेशी तथा विदेशी लगानी महत्वपूर्ण छ। यसलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ।
नेपालमा बेरोजगार छ भन्छौँ, तर, खोजेको जस्तो जनशक्ति पाइँदैन। १०० जना नयाँ युवा पुस्ता आयोस म आफै क्षमताअनुसारको रोजगारी दिन्छु। यहाँ बेरोजगार छ भन्छन, यहाँ काम गर्ने मान्छे छैनन्। जो मान्छे विदेशमा गएर दैनिक १६ घण्टासम्म इमानदारीका साथ काम गर्छ, उसले मेहनत यहाँ गरे त्योभन्दा डबल पैसा नेपालमै कमाउन सक्छ। त्यसैले हामीले आफ्नो सोच बदल्न जरुरी छ।
हामी जलविद्युत् निर्यात गर्ने कुरा गर्छौँ। चार रुपैयाँमा भारतमा बिजुली निर्यात गर्नुभन्दा आफ्नो उत्पादन बिजुली यहाँका उद्योगमा किन प्रयोग नगर्ने? हामीले लगानीमैत्री नीति बनाएर कार्यान्वयन गर्ने हो भने आजको दिनमा २५ हजार मेगावाट बिजुली नेपालमा खपत हुने उद्योग आउँछ।
भारतमा निर्यात गर्नु नै पर्दैन। चीनमा कुनै वस्तु वन्दरगाहसम्म पुग्न हजार किलोमिटर पार गर्नुपर्छ। हाम्रो वन्दरगाह कोलाकाता त टाढा छ। तर, भारतसँग समझदारी गर्ने हो भने बेलुका ८ बजे लोड गरेको सामान राति १२ बजे कोलाकाता वन्दरगाहसम्म पुग्न सक्छ। यति नजिकको पोर्ट संसारमा अरू कतै छैन।
हामीसँग सही सोच, भिजन र गर्ने इच्छाशक्तिका साथ कसैसँग पूर्वाग्रह नराखी देश बनाउँछु भन्ने हो भने पाँच वर्षभित्र नेपाललाई एउटा ठूलो लगानीको केन्द्र बनाउन सकिन्छ। हामीले अहिलेसम्म हिमालको देश भनेर चिनिएका छौँ। यदि हामीले सही नीति र वातावरण बनाउने हो भने नेपाल दुबइको जस्तो लगानीको ‘हब’ बन्न सक्छ।
(बहुराष्ट्रिय कम्पनी सूर्य नेपालका भाइसप्रेसिडेन्ट रवि केसीले नेपाल आर्थिक पत्रकार समाजमा लगानीको विषय गरेको सम्बोधनको सम्पादित अंश)


