नेपाली समाज यतिवेला जेन्जी अन्दोलनको आलोकमा हर क्षेत्रमा जवरजस्त परिवर्तन चाहानेहरूको दवावमा छ। यो परिवर्तनलाई तहगत रुपमा आकार दिन सक्ने नेतृत्वको खाँचो पनि छ । खोजी पनि चलिरहेको देखिन्छ । आज गाउँको वडा तहदेखि संघीय संसदसम्म “अब हामीले नेतृत्व गर्नुपर्छ” भन्ने मनोविज्ञान र चासो तीव्र रूपमा देखिन्छ। आज नेपालका चोक-चोक, क्याम्पसका हाता, चिया कफी पसलका टेवलका कुना-कुना र सामाजिक सञ्जालका भित्ताहरूमा घोषित वा अघोषित रूपमा नयाँ नेतृत्वका खाजीका अवाजहरू गुञ्जिरहेका छन्। अर्का तर्फ फेरी कसैले विद्यार्थी आन्दोलनबाट, कसैले एउटा भाइरल भिडियोबाट, कसैले सडकको नारावाजीबाट आफूलाई समाजमा सुपरिचित, योगदान दिएको र नेतृत्वदायी भूमिकामा उभ्याउने प्रयास गर्दै आफैलाइ नेता ठान्न थालेको परिदृष्यहरू पनि छिपेका छैन।
यो उमंग स्वाभाविक छ। वैकल्पिक राजनीतिक बहसहरूले नयाँ पुस्तामा नेतृत्वप्रतिको आकर्षण व्यापक बनाएको छ। यो लोकतान्त्रिक समाजका लागि सकारात्मक संकेत हो, किनकि नेतृत्वप्रतिको चासो हराएको समाज स्थिर त हुन सक्छ, तर जीवित हुँदैन।
यही उत्साहसँगै एउटा गम्भीर प्रश्न पनि उव्जिएको छ,”के नेतृत्व केवल लोकप्रियता, आवेग र महत्वाकांक्षाले सम्भव हुन्छ?”, “कि नेतृत्व त्यसभन्दा धेरै गहिरो, कठिन र दीर्घकालीन निर्माण प्रक्रिया हो?” नेपालको पछिल्लो राजनीतिक अनुभव, विशेषतः जेन्जी आन्दोलनपछि विकसित भएको बहसले यो प्रश्नलाई झन् सान्दर्भिक बनाएको छ। आज नेपाली समाजले केवल नयाँ अनुहार खोजिरहेको छैन, जिम्मेवार, सक्षम, उत्तरदायी र दीर्घदृष्टि भएको नेतृत्व खोजिरहेको छ।
नेतृत्व सचेत निर्माणको परिणाम हो:
मानव इतिहासमा नेतृत्वबारे दुई धारणा रहँदै आएका छन्। एउटा धारणा अनुसार नेता जन्मजात हुन्छन्, जसमा स्वाभाविक आत्मविश्वास, प्रभाव क्षमता र चमत्कारीक हुन्छ। अर्को धारणा अनुसार नेतृत्व निरन्तर सिकाइ, अनुभव र सचेत निर्माणको परिणाम हो। आधुनिक नेतृत्व अध्ययनले दोस्रो धारणा बढी विश्वसनीय देखाएको छ। नेतृत्व केवल भाषण, लोकप्रियता वा पद प्राप्तिको विषय होइन। यो दीर्घकालीन अभ्यास, आत्मअनुशासन र परिस्थितिसँग जुध्दै विकसित हुने क्षमता हो।
नेतृत्वको वास्तविक विकास केवल पुस्तक, सिद्धान्त वा कक्षाबाट हुँदैन। व्यवहारिक जीवन, चुनौती, असफलता र निर्णय प्रक्रियाले नेतृत्वलाई परिपक्व बनाउँछ। तर प्रत्येक व्यक्तिसँग सबै कुरा अनुभवबाट सिक्ने पर्याप्त समय हुँदैन। त्यसैले सफल र असफल नेतृत्वका इतिहास, सिद्धान्त र विद्वानहरूको अनुभवबाट सिक्न सक्नु पनि प्रभावकारी नेतृत्वको महत्वपूर्ण गुण हो। यही कारणले नेतृत्व ज्ञान र व्यवहार दुवैको संयोजन मानिन्छ।
अरस्तुले उत्कृष्टतालाई निरन्तर अभ्यासबाट निर्माण हुने बानी भनेका थिए। नेतृत्व पनि यस्तै प्रक्रिया हो। क्षणिक लोकप्रियताले मानिसलाई चर्चित बनाउन सक्छ, तर दीर्घकालीन नेतृत्व अनुभव, आत्मसंयम र व्यवहारिक बुद्धिबाट मात्र स्थापित हुन्छ। त्यस्तै सुकरातको “आफैंलाई चिन” भन्ने विचार नेतृत्वका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। जसले आफ्ना कमजोरी, सीमितता र जिम्मेवारी बुझ्न सक्दैन, उसले समाजलाई सही दिशा दिन सक्दैन। नेपालको नेतृत्व संकटमा आत्मालोचना र समयानुकूल परिवर्तनको अभाव स्पष्ट देखिन्छ।
आधुनिक नेतृत्व अनुसन्धानहरूले पनि नेतृत्व निर्माण हुने प्रक्रिया भएको पुष्टि गरेका छन्। रिचर्ड आर्वे लगायत अनुसन्धानकर्ताहरूको अध्ययन अनुसार नेतृत्वतर्फ आकर्षणमा केही आनुवंशिक प्रभाव देखिए पनि प्रभावकारी नेतृत्व भने अनुभव, वातावरण र निरन्तर विकासमा निर्भर हुन्छ। त्यस्तै रोनाल्ड हाइफेट्जका अनुसार बदलिँदो परिस्थितिसँग अनुकूल हुन सक्ने क्षमता नै सफल नेतृत्वको आधार हो। जोन सि. मेक्सवेलका अनुसार नेतृत्व केवल पद होइन, कामको प्रभाव हो। प्रभाव निर्माण गर्न वर्षौंको विश्वास, इमानदारी र सम्बन्ध चाहिन्छ। यही कारणले आन्दोलनमा अचानक चर्चित भएका सबै व्यक्ति दीर्घकालीन नेता बन्न सक्दैनन्। लोकप्रियता क्षणिक हुन सक्छ, तर नेतृत्वको वैधता दीर्घकालीन चरित्र र क्षमताबाट निर्माण हुन्छ। यी सबै अध्ययनहरूको सार एउटै छ, नेतृत्व केवल जन्मजात प्रतिभा होइन, निरन्तर सिकाइ, अनुभव र आत्मनिर्माणको परिणाम हो।
विश्व इतिहासमा नेल्सन मण्डेला यसको उत्कृष्ट उदाहरण हुन्। उनले २७ वर्ष जेलमा बिताए, तर त्यो समयलाई प्रतिशोध होइन, आत्मनिर्माण र दृष्टि विस्तारको माध्यम बनाए। जेलबाट निस्कँदा उनी केवल आन्दोलनकारी थिएनन, संस्थागत पुनर्निर्माण गर्न सक्ने परिपक्व राजनेता बनिसकेका थिए। त्यसैले नेतृत्व रहरले होइन, दीर्घकालीन आत्मसंयम र चेतन निर्माणले बन्ने प्रक्रिया हो।
लोकप्रियता र जिम्मेवारीबीचको द्वन्द्व:
नेपालको आधुनिक राजनीतिक इतिहास आन्दोलन, परिवर्तन र नयाँ नेतृत्वको उदयको इतिहास हो। २०४६ को जनआन्दोलनदेखि २०६२/६३ को लोकतान्त्रिक आन्दोलन र पछिल्ला नागरिक असन्तुष्टिसम्म आइपुग्दा नेपाली समाजले बारम्बार नयाँ आशा बोकेको छ। तर विडम्बना के रह्यो भने आन्दोलनहरूले व्यवस्था परिवर्तन त गरे, नेतृत्व संस्कारको गुणात्मक विकास भने अपेक्षित रूपमा हुन सकेन। लोकतान्त्रिक गणतन्त्र स्थापना पछि जनताले सुशासन, स्थायित्व र विकासको अपेक्षा गरेका थिए, तर व्यवहारमा सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, राजनीतिक अस्थिरता र संस्थागत कमजोरीले लोकतन्त्रमाथिको भरोसा क्रमशः कमजोर बनायो।
ट्रास्फरेन्सी इन्टरनेशनल र फ्रिडम हाउस जस्ता अन्तर्राष्ट्रिय संस्थाका प्रतिवेदनहरूले पनि नेपालमा संस्थागत उत्तरदायित्व कमजोर बन्दै गएको संकेत गरेका छन्। यसको अर्थ केवल शासन प्रणालीको समस्या होइन, नेतृत्व संस्कारकै संकट हो। अहिले नेपालमा व्यक्तिको लोकप्रियता र वास्तविक नेतृत्व क्षमताबीच गम्भीर भ्रम देखिन्छ। सामाजिक सञ्जालको विस्तारले केही घण्टामै व्यक्तिलाई चर्चित बनाउन सक्छ, तर चर्चित हुनु र राष्ट्र सञ्चालन गर्न सक्ने परिपक्व नेतृत्व हुनु एउटै कुरा होइन। नेतृत्व केवल नाराबाजी, विरोध वा भीड आकर्षित गर्ने कला होइन, त्यो निर्णय क्षमता, संकट व्यवस्थापन, नीतिगत स्पष्टता र दीर्घदृष्टिको संयोजन हो।
पछिल्लो जेन्जी आन्दोलनले पुरानो नेतृत्वशैली प्रतिको जनअसन्तुष्टि उजागर गर्यो। युवाहरूले केवल अनुहार परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तनको माग गरेका थिए। तर आन्दोलनपछि देखिएको अर्को वास्तविकता के हो भने धेरै नयाँ अनुहारहरू पर्याप्त वैचारिक, संस्थागत र व्यवस्थापकीय तयारी बिनै नेतृत्वको केन्द्रमा पुगेका छन। यसले समाजमा “छिटो चर्चित हुनेबित्तिकै नेतृत्व सम्भव हुन्छ” भन्ने मनोविज्ञानलाई थप बलियो बनाएको छ। यही कारणले इतिहासमा सफल आन्दोलनबाट स्थापित धेरै नेताहरू सोही आन्दालनले स्थापित गरेको व्यवस्थामा सफल शासक बन्न सकेनन्।
हुटहुटीदेखि दिगो नेतृत्वतर्फ नेपालको आगामी मार्ग:
नेपालको भविष्यका लागि अब मुख्य प्रश्न “को नेता बन्छ?” भन्ने होइन, “को जिम्मेवार नेता बन्न तयार छ?” भन्ने हो। नेतृत्वको आकांक्षा लोकतान्त्रिक ऊर्जा हो, तर त्यो ऊर्जा अध्ययन, अनुशासन र आत्मनिर्माणमा रूपान्तरण नभएसम्म दिगो नेतृत्व निर्माण हुँदैन। आजको विश्व कृत्रिम बुद्धिमत्ता, भू-राजनीतिक प्रतिस्पर्धा र तीव्र आर्थिक परिवर्तनको युगमा प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा सीमित सोच, आवेग र लोकप्रियता मात्रमा आधारित नेतृत्वले राष्ट्रलाई दिशा दिन सक्दैन।
त्यसैले नेपालमा अब नेतृत्वलाई व्यक्ति केन्द्रित प्रभावबाट संस्थागत संस्कारतर्फ लैजान आवश्यक छ। राजनीतिक दल, विश्वविद्यालय, नागरिक समाज र सामाजिक संस्थाहरूले नेतृत्व विकासलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ। त्यस्तै समाजले पनि केवल भावनात्मक भाषण र भीडको लोकप्रियतालाई नेतृत्वको मापदण्ड बनाउने प्रवृत्ति त्याग्नुपर्छ। दक्षता, नैतिकता, उत्तरदायित्व र संस्थालाई बलियो बनाउने क्षमताले मात्रै नेतृत्वको वैधता स्थापित हुन्छ। साँचो नेतृत्व शक्ति केन्द्रित गर्ने होइन, आफ्नो विकल्प निर्माण गर्ने र समाजलाई दीर्घकालीन दिशा दिने क्षमता हो।
अन्ततः नेपालको इतिहासले निरन्तर एउटा कुरा चाहिँ प्रमाणित गरेको छ कि जनतालाइ लामो समयसम्म भ्रममा राख्न सकिएला, तर अनन्तकालसम्म होइन। शक्ति, पद र प्रचारले केही समय प्रभाव दिन सक्छ, तर दीर्घकालीन वैधता त केवल जिम्मेवारीबाट प्राप्त हुन्छ। नेतृत्व व्यक्तिगत महिमा वा महत्वाकांक्षाको विषय हुन सक्दैन त्यो त समाज र भविष्यप्रतिको गहन दायित्व हो। त्यसैले नेतृत्व जन्मजात चमत्कार होइन निरन्तर अभ्यास, आत्मसंयम, असफलताबाट सिकाइ, संस्थागत संस्कार र नैतिक प्रतिबद्धताबाट निर्माण हुने प्रक्रिया हो। नेपालले अब अनुहार परिवर्तन भन्दा बढी नेतृत्व संस्कार परिवर्तनको आवश्यकता महसुस गरिरहेको छ। यदि यो परिवर्तन सम्भव भयो भने मात्र लोकतन्त्रले स्थायित्व पाउनेछ, राज्यले पुन: विश्वास प्राप्त गर्नेछ, र नयाँ पुस्ताले भविष्यप्रति आशा गर्न सक्नेछन।
(लेखक सामाजिक क्षेत्र र नेतृत्व विकासका अध्येता हुन् ।)


