२०८३ कार्तिक १२ गते बुधबार

पश्चिम एसियामा फेरि तनाव, तेल आपूर्तिमा असर पर्ने संभावना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
tehran

दुबई। एपी। अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ। अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

इरानी आक्रमणका क्रममा जोर्डनस्थित मुवाफाक सल्टी एयर बेसतर्फ प्रक्षेपण गरिएका पाँचवटा क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ। उक्त सैन्य अड्डामा अमेरिकी एफ–३५ लडाकू विमानसहित अन्य सैन्य उपकरण तैनाथ छन्। जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र खसेका क्षेप्यास्त्रका भग्नावशेषबारे अनुसन्धान भइरहेको छ।

यसै क्रममा इरानले बहराइन र कुवेततर्फ पनि आक्रमण गरेको दाबी गरिएको छ। ती दुवै देशले सम्भावित जोखिमलाई ध्यानमा राख्दै हवाई सुरक्षा प्रणाली सक्रिय पारेका थिए। यी घटनालाई विश्लेषकहरूले युद्धविरामपछि पुनः बढ्दो सैन्य टकरावको सङ्केतका रूपमा हेरेका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार अमेरिकी वायुसेना र नौसेनाका लडाकू विमानहरूले इरानका हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण केन्द्र तथा निगरानी राडार संरचनालाई लक्षित गरी कारबाही सञ्चालन गरेका हुन्। इरानले बन्दर अब्बास र केशम टापु आसपासका क्षेत्रमा आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन।

अमेरिकाले यो कारबाहीलाई आफ्ना सैनिक तथा अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा हालै भएका आक्रमणको ‘समानुपातिक प्रतिक्रिया’ भनेको छ। तर, इरानले यसलाई अस्वीकार गर्दै विदेशी सैन्य उपस्थितिलाई नै क्षेत्रीय अस्थिरताको मुख्य कारण बताएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशमाथि हुने कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिइने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत क्षेत्र नजिक रहेका विदेशी सैन्य बल निरन्तर जोखिममा रहेको उल्लेख गर्दै थप आक्रमण भए प्रतिकार गर्ने स्पष्ट संकेत गरे।

यसअघि एक अमेरिकी एएच–६४ अपाचे आक्रमण हेलिकप्टर हर्मुज जलघाँटी नजिक दुर्घटनाग्रस्त भएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार हेलिकप्टर र इरानी ड्रोनबीच ठक्कर भएपछि दुर्घटना भएको आशंका गरिएको छ। यद्यपि यो घटना नियोजित थियो वा थिएन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन र अनुसन्धान जारी रहेको बताइएको छ।

दुर्घटनापछि अमेरिकी सेनाले पहिलोपटक समुद्री ड्रोनको प्रयोग गरी उद्धार अभियान सञ्चालन गरेको जनाएको छ। स्थानीय समयअनुसार बिहान करिब साढे तीन बजे दुर्घटनाग्रस्त हेलिकप्टरका दुई चालक दल सदस्यलाई ड्रोनमार्फत सुरक्षित स्थानमा पुर्‍याइएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै सैनिक सुरक्षित रहेको जानकारी दिएका छन्।

विश्लेषकहरूका अनुसार हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढेसँगै अपाचे हेलिकप्टरहरू इरानी तेल ढुवानीमाथि निगरानी तथा नाकाबन्दी कार्यान्वयनमा महत्त्वपूर्ण साधन बनेका छन्। संयुक्त अरब इमिरेट्सले पनि इरानी ड्रोन रोक्न यस्ता हेलिकप्टर प्रयोग गर्दै आएको छ।

युद्धविराम कायम राख्ने प्रयास भइरहेका बेला पछिल्ला घटनाले कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्भावित सम्झौताबारे आशावादी रहेको बताए। यद्यपि, उनले त्यसको आधार खुलाएका छैनन्।

पाकिस्तानको मध्यस्थतामा पछिल्ला केही सातादेखि वार्ता अगाडि बढाउने प्रयास भइरहे पनि अमेरिका र इरान दुवैले आफ्ना अडान नरम बनाएका छैनन्। अमेरिकाले इरानसँग रहेको उच्च प्रशोधित युरेनियमको मौज्दात त्याग्नुपर्ने माग राख्दै आएको छ भने इरानले प्रतिबन्ध हटाउन र रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

यसैबीच, इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लेबनानमा जारी संघर्षले पनि क्षेत्रीय तनाव बढाइरहेको छ। लेबनानी सेना प्रमुख जनरल रोडोल्फ हेकल मङ्गलबार पाकिस्तान पुगेका छन्।

त्यहाँ उनले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनीरसँग भेटवार्ता गरेको बताइएको छ। क्षेत्रीय स्थायित्व र इरानसँगको सम्बन्ध सुधारका सम्भावित उपायबारे छलफल भएको अनुमान गरिएको छ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्व ऊर्जा बजार, तेल, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्यान्न मूल्यमा व्यापक असर पारेको छ। अप्रिलमा भएको युद्धविरामपछि तनाव केही मत्थर भए पनि पछिल्ला सैन्य गतिविधिले मध्यपूर्व फेरि अस्थिरतातर्फ धकेलिने चिन्ता बढाएको छ।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ।

इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विमानका ह्याङ्गरहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ। साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण भएको उल्लेख गरिएको छ।

त्यसैगरी, बहराइनमा रहेको अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयमा ड्रोन आक्रमण गरिएको आईआरजीसीले जनाएको छ। उक्त आक्रमण दक्षिणी इरानमा अमेरिकी हमलाको प्रतिक्रियास्वरूप गरिएको दाबी गरिएको छ।

यसैबीच, स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी सरकारी सञ्चारमाध्यमहरूले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरू पनि पुनः निशानामा परेको बताएका छन्।

 

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार ०१:४०
प्रतिक्रिया

थप समाचार

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना