काठमाडौँ: काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवाल विरुद्ध धितोपत्र सम्बन्धी ऐन अन्तर्गत गम्भीर कसूरमा मुद्दा दायर गरेको छ। जिल्ला सरकारी वकिलले दीपक भट्ट र सुलभ अग्रवालसहित ८१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ भने सुलभविरुद्ध छुट्टै थप अभियोगपत्र दायर गरिएको छ।
पूरक अभियोजनमा अग्रवालले पदमा बहाल रहँदा सेयर बिक्री गर्न नपाउने कानुनी व्यवस्थालाई छल्न छोरासँग नक्कली अंशबण्डा गरी करोडौं मूल्यको सेयर गैरकानूनी रूपमा बिक्री गरेको दाबी गरिएको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ अनुसार सूचीकृत कम्पनीको अध्यक्ष वा सञ्चालक पदमा बहाल रहँदा र पदबाट हटेको एक वर्षसम्म सोही कम्पनीको सेयर बिक्री गर्न पाइँदैन। तर, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले आफ्नो नाममा रहेको ८ लाख ३ हजार ३१ कित्ता सेयर बिक्री गर्न छोरा कृषिव अग्रवालसँग अंशबण्डा गरेको प्रपञ्च रचेको अभियोगपत्रमा उल्लेख छ।
अदालतमा पेश गरिएको विवरण अनुसार, सुलभले ती सेयरहरू अंशबण्डाको नाममा छोरा कृषिवको नाममा हस्तान्तरण गराएका थिए। त्यसलगत्तै कृषिवले ८ लाख २ हजार ३१ कित्ता सेयर बिक्री गरी प्राप्त रकम पुनः बुबा सुलभ र परिवारका अन्य सदस्यको खातामा फर्काएको देखिएको छ।
नेपाल धितोपत्र बोर्ड र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा सुलभ अग्रवालले नै छोराको सेयर कारोबार सञ्चालन गरेको प्राविधिक प्रमाण फेला परेको बताएको छ। सुलभ अग्रवाल र कृषिव अग्रवाल दुवैको अनलाइन सेयर कारोबार (टीएमएस) एउटै आईपी एड्रेस र एउटै म्याक एड्रेस भएको कम्प्युटर/वाइफाइबाट भएको देखिएको छ। यसले छोराको नामको सेयर सुलभकै कार्यालयबाट उनकै रेखदेखमा बिक्री गरिएको पुष्टि गर्छ।
सेयर बिक्रीबाट प्राप्त भएको रकम कृषिवको खाताबाट चेक मार्फत सुलभकी आमा ललिता अग्रवालको नाममा २ करोड र सुलभको नाममा २३ करोड रुपैयाँ ट्रान्सफर भएको देखिएको छ। यस्तै, जगदम्बा स्टिल्सको खातामा समेत रकम पठाइएको प्रमाण भेटिएको छ। जगदम्बा स्टिल्सका कर्मचारी श्रीधर खनालले छोरा कृषिवको नाममा काटिएका चेकहरूमा सुलभ अग्रवालले नै हस्ताक्षर गर्ने गरेको र बैंकमा रकम जम्मा गर्ने काम आफूले गरेको बयान दिएका छन्।
यद्यपि अग्रवालले आफ्नो बयानमा छोरासँगको अंशबण्डा कानुनसम्मत भएको र छोराको कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। उनले आईपी एड्रेस एउटै हुनुमा आफ्नो कार्यालयको स्टाफले केवाईसी (केवाईसी) फारम भरिदिएको कारण हुन सक्ने तर्क गरेका छन्।
सुलभ अग्रवाल गत चैत २३ गतेदेखि अनुसन्धानको क्रममा हिरासतमा रहेका छन्।


