काठमाडौँः नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। करिब सात वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय पहलमा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।
यससँगै निजी क्षेत्रले जलविद्युत उत्पादनमा मात्र सीमित नरही प्रसारण लाइन निर्माण तथा भविष्यमा आवश्यक नीति र अनुमति पाए विद्युत व्यापारसमेत गर्न सक्ने क्षमता रहेको सन्देश दिएको छ। ऊर्जा क्षेत्रका सरोकारवालाले यसलाई निजी क्षेत्रको दक्षता र सार्वजनिक–निजी साझेदारी (पीपीपी) को सफल उदाहरणका रूपमा लिएका छन्।
सात वर्ष रोकिएको आयोजना डेढ वर्षमा पूरा
यस प्रसारण लाइन निर्माणको ठेक्का चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो। तर सात वर्षभन्दा बढी समय बित्दा पनि कम्पनीले ८४ वटा टावरमध्ये ३५ वटा टावरको फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्र सम्पन्न गर्न सकेको थियो।
निर्माण कार्य अत्यन्त सुस्त भएपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिर ५ गते बाँकी निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो।
त्यसपछि २०८१ मंसिर ९ गते मस्र्याङ्दी करिडोरका सात निजी जलविद्युत आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन निर्माण अघि बढाउने निर्णय गरेका थिए। करिब ४ करोड ९६ लाख ९५ हजार रुपैयाँ लागतमा भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो।
निर्माणको सहजीकरण तथा समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का तत्कालीन उपाध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको संयोजकत्वमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमिटेडका अध्यक्ष मोहनविक्रम कार्की सदस्य रहेको समिति गठन गरिएको थियो। समितिले स्थानीय समन्वयदेखि प्राविधिक तथा प्रशासनिक समस्या समाधान गर्दै निर्माण कार्यलाई तीव्र बनाएको थियो।
सबैभन्दा ठूलो उपलब्धि ः शून्य प्रगतिबाट सञ्चालनसम्म
निजी क्षेत्रले जिम्मेवारी सम्हालेपछि निर्माण कार्यले उल्लेखनीय गति लियो। हाल ८४ वटै टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन सम्पन्न भइसकेको छ। २८ किलोमिटर प्रसारण लाइन पूर्ण रूपमा निर्माण सम्पन्न भई परीक्षण सञ्चालनमा आएको छ।
यस प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपे खोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत आयोजनाको लगानी रहेको छ। यी सबै आयोजना निजी क्षेत्रद्वारा प्रवद्र्धित हुन्।
‘निजी क्षेत्र प्रसारण लाइन बनाउन पनि सक्षम छ’
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर नयाँ इतिहास रचेको बताए।
उनका अनुसार प्रसारण लाइन अभावका कारण निजी क्षेत्रबाट उत्पादित ठूलो परिमाणको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकिएको अवस्था थियो। त्यसले लगानीकर्ताले आर्थिक क्षति व्यहोर्नुपरेको थियो।
उनले भने, “मार्कीचोक–भरतपुर प्रसारण लाइन समयमै सम्पन्न गरेर निजी क्षेत्र प्रसारण लाइन निर्माण गर्न पनि पूर्ण रूपमा सक्षम रहेको प्रमाणित भएको छ। सरकारले अवसर दिए निजी क्षेत्रले उत्पादनसँगै प्रसारण पूर्वाधार विकासमा पनि प्रभावकारी भूमिका खेल्न सक्छ।“
राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी
नेपाल विद्युत प्राधिकरणका अनुसार मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। यो आयोजना युरोपियन लगानी बैंक (भ्क्ष्द्य) को ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो।
तनहुँको आँबुखैरनीस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब २८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। प्रारम्भिक चरणमा एउटा सर्किट मात्र सञ्चालनमा ल्याइनेछ।
प्राधिकरणले हाल २२० केभी विद्युत प्रवाह गरी परीक्षण सुरु गरेको जनाएको छ। परीक्षण सफल भएपछि लाइन नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा समावेश गरिनेछ।
विद्युत खेर जानबाट जोगिने
यो प्रसारण लाइन सञ्चालनमा आएपछि मस्र्याङ्दी, दोर्दी, त्रिशूली नदी तथा तिनका सहायक खोलामा निर्माण भएका र निर्माणाधीन निजी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा सहज रूपमा जोड्न सकिनेछ।
प्रसारण पूर्वाधार अभावका कारण उत्पादन भएर पनि खेर जाने जोखिममा रहेको विद्युत अब आन्तरिक उपभोग तथा निर्यातका लागि उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
कुलमान घिसिङ ः ऊर्जा विकासको महत्वपूर्ण कोशेढुंगा
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले यस उपलब्धिलाई नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण कोशेढुंगाको संज्ञा दिएका छन्।
उनका अनुसार आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक तथा पछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा रहँदा यस आयोजनाको वित्तीय व्यवस्थापन, समन्वय र सहजीकरणलाई उच्च प्राथमिकता दिइएको थियो।
उनले प्रारम्भिक ठेकेदारबाट समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरूले आफैं निर्माणको जिम्मेवारी लिएर आयोजना सम्पन्न गर्नु ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको जिम्मेवारी, सक्रियता र दक्षताको उत्कृष्ट उदाहरण भएको बताए।
घिसिङले अब मस्र्याङ्दी करिडोरका बाँकी प्रसारण लाइन पनि शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वन क्षेत्रको स्वीकृति, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियामा हुने ढिलाइ हटाउन सरकारले आवश्यक सुधार गर्नुपर्ने बताए।
सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
यसैबीच नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत प्रवाह भइरहेकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले तनहुँको आँबुखैरनी गाउँपालिका–२, ३, ४ र ५, गोरखा नगरपालिका–१४ को याङकोट क्षेत्र तथा चितवनको भरतपुर महानगरपालिका–२९ को जुगेडी–चौकीडाँडा र इच्छाकामना गाउँपालिका–६ को रिग्दीखोला क्षेत्रमा बसोबास गर्ने नागरिकलाई टावरमा नचढ्न, विद्युतीय संरचना नछुन, टावर वरपर नजान तथा गाईवस्तुलाई पनि टावर नजिक जान नदिन अनुरोध गरेको छ।
त्यस्तै, परीक्षणका क्रममा कुनै असामान्य अवस्था, स्पार्क वा अन्य जोखिम देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।


