उदयपुर–उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ। वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो।
गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार पालिकाले १० असारमा कुल ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ। ‘समग्रमा पालिकाभरिका योजना एकीकृत रुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ’, उनले भने। पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्त्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो।
बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारीता नदेखिने हुँदा वडागत रुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए।
गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत ७ करोड ५५ लाख, ससर्त अनुदान शीर्षकअन्तर्गत १८ करोड, विशेष अनुदानतर्फ १ करोड ९ लाख र समपूरक अनुदान पुँजीगततर्फ २६ करोड बजेट विनियोजन गरिँदै छ। चालू आवको तुलनामा आगामी आवका लागि २ करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वटा वडा रहेका छन्।



