काठमाडौँ: आगामी साउन र भदौमा आयोजना हुन लागेका दुई प्रमुख अटो प्रदर्शनीबाट आयोजक संस्थाहरूले स्टल भाडामात्रैबाट ७ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने भएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले प्रदर्शनीका लागि स्टल शुल्क बढाउँदै यसपटक उल्लेख्य आम्दानी गर्ने तयारी गरेका हुन्।
नाइमाले आयोजना गर्ने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा कुल ५० वटा स्टल रहनेछन्। यसका लागि स्टलको आकार र स्थानअनुसार न्यूनतम २ लाख ५९ हजार २०० रुपैयाँदेखि अधिकतम १८ लाख ५६ हजार ४०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। गत वर्षको तुलनामा सबैभन्दा महँगो स्टलको मूल्य करिब सवा ४ लाख रुपैयाँले बढाइएको छ।
सबैभन्दा बढी शुल्क एल–२ र आर–२ स्टलका लागि तय गरिएको छ, जहाँ प्रत्येक स्टलको भाडा १८ लाख ५६ हजार ४०० रुपैयाँ पर्नेछ। एल–१ र आर–१ स्टलको शुल्क १७ लाख १३ हजार ६०० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी एल–४ र आर–४ स्टलको भाडा १४ लाख १९ हजार ६०० रुपैयाँ तथा एल–५, एल–६, आर–५ र आर–६ स्टलको शुल्क ९ लाख ८२ हजार ८०० रुपैयाँ तोकिएको छ।
अन्य विभिन्न श्रेणीका स्टलहरूका लागि पनि स्थानअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। ए, सी, डी, एच, ओ तथा आर समूहका स्टलको मूल्य करिब अढाइ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म राखिएको छ।
यी सबै स्टलबाट नाइमाले करिब ३ करोड ९ लाख ७६ हजार २०० रुपैयाँ भाडा आम्दानी गर्ने लक्ष्य राखेको छ।
यस्तै, नाडाले आयोजना गर्ने अटो शोका लागि पनि स्टल शुल्क आकर्षक रूपमा निर्धारण गरेको छ। ‘ए प्लस’ श्रेणीका चारवटा स्टलका लागि प्रतिस्टल १५ लाख ७३ हजार रुपैयाँ तोकिएको छ। यसबाट मात्रै ६२ लाख ९३ हजार रुपैयाँ संकलन हुनेछ।
ए र बी श्रेणीका ६ वटा स्टलको शुल्क प्रतिस्टल १४ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने सी र एफ समूहका स्टलका लागि ७ लाख ८१ हजार रुपैयाँ तोकिएको छ। एच तथा एचएच श्रेणीका स्टलको मूल्य १० लाख ८२ हजार रुपैयाँ रहेको छ भने जी तथा जीजी स्टलका लागि ९ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, जे र ट्वू समूहका २० वटा स्टलको शुल्क प्रतिस्टल ३ लाख ८७ हजार रुपैयाँ राखिएको छ। साना स्टलतर्फ एल, केके, डी एण्ड ई तथा के समूहका स्टलको भाडा ५४ हजार रुपैयाँदेखि १ लाख ६३ हजार रुपैयाँसम्म कायम गरिएको छ।
नाडाले यस वर्ष स्टल भाडाबाट मात्रै करिब ३ करोड ९२ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ।
दुवै संस्थाको आम्दानी जोड्दा स्टल भाडाबाट मात्रै ७ करोड १ लाख ७६ हजार रुपैयाँभन्दा बढी रकम उठ्ने देखिएको छ।
आयोजकहरूको अनुमानअनुसार यी दुई अटो प्रदर्शनीमार्फत करिब ३० अर्ब रुपैयाँ बराबरको सवारीसाधन कारोबार हुन सक्छ।


