काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ। लगातार पाँचौँ कारोबार दिन बढेको नेप्से १९ कारोबार दिनपछि पुनः २ हजार ७०० विन्दुमाथि उक्लिएको हो।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन कुल १ करोड २२ लाख ४५ हजार कित्ता सेयर कारोबार भएको हो।
सोमबार सबैभन्दा बढी एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १४.७५ प्रतिशतले बढेको छ । यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको सोमबार २९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


